• शुक्रबार, साउन ८ २०८३

सिभिल अस्पताल पदपूर्ति प्रकरण: कर्मचारी–व्यवस्थापनको आ–आफ्नै अडानले दिन सकेन निकास


सोमबार, चैत्र १३ २०७९
1.5K
Shares

काठमाडौँ । कर्मचारी पदपूर्तिको विज्ञापनमा आपत्ति जनाउँदै सिभिल सर्भिस अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी हाल आन्दोलनरत छन् ।

फागुन ३० गते अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढीसङ्ख्यामा कर्मचारीको आवेदन मागेपछि कार्यरत चिकित्सकसहित कर्मचारीहरु २ हप्तादेखि विभिन्न विरोधका कार्यक्रमसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालमा क्रियाशिल मुख्य तिन सङ्गठन, निजामती कर्मचारी अस्प्ताल कर्मचारी यूनियन, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ र डाक्टर्स एसोसियसनको संयुक्त नेतृत्वमा भइरहेको आन्दोलनमा हाल हरेक दिन धर्नासहित रिले अनसनलगायतका विरोधका कार्यक्रम चलिरहेको छ । पदपूर्तिसम्बन्धी विज्ञापनका विषयमा ६ बुँदे असहमति जनाउँदै कर्मचारीहरुले गत चैत ७ गतेदेखि २४ घण्टै रिले अनसन थालेका थिए ।

प्रशासनले अस्पतालमा कार्यरत कर्मचारीको वृत्ति विकास र स्थायित्वको प्रवाह नगरी आफूखुसी पदपूर्तीसम्बन्धि विज्ञापन निकालेर आफूहरुमाथि दमन गर्न खोजेको आरोप आन्दोलनरत पक्षको छ । वर्षौदेखि कार्यरत चिकित्सक तथा कर्मचारीहरुको हित विपरित अस्पताल व्यवस्थापनले अघि बढाएको कर्मचारी भर्नाको प्रक्रिया रोकिनुपर्ने उनीहरुको माग छ ।

‘‘विगतमा कर्मचारीहरुसँग भएको सहमतिको पालना भएन’ डाक्टर्स एसोसियसनका महासचिव डा दिपेश केसीले सिभिलखबरसँग भने ‘विनियमावली संशोधन, तह–मिलान, सेवा अवधि गणना गरी सम्मानजनक बढुवालगायतका विषयमा भएको सहमतिको कार्यान्वयन होस् भन्ने हाम्रो माग हो, यसमा व्यवस्थापक उपेक्षा गरी एकलौटी ढङ्गबाट पेशागत हकहितका विरुद्ध अघि बढ्यो भन्ने हाम्रो बुझाइ हो ।’

अस्पताल व्यवस्थापनले स्वास्थ्य ऐन विपरित विज्ञापन खोलेर आफ्ना मान्छे भर्ना गर्न खोजेको समेत उनीहरुको आरोप छ । पदपूर्तिका लागि खोलिएको विज्ञापन तत्काल खारेज गरी स्थायी रुपमा काम गरिरहेकाहरुलाई बढुवा गर्नुपर्ने, करारमा काम गरिरहेकाहरुलाई आन्तरिक प्रक्रियामार्फत स्थायी बनाउनुपर्ने र दैनिक ज्यालादारीमा काम गरिरहेकाहरुको पनि सेवा सुविधा थप हुनुपर्ने माग आन्दोलनरत पक्षको छ ।

त्यस्तै पदपूर्ति प्रक्रियामा लोकसेवालाई सम्पूर्ण अधिकार नदिइ पर्यवेक्षकको रुपमा मात्रै राखी अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीहरुको स्थायित्वको सुनिश्चितता गर्नसमेत व्यवस्थापन पक्षसँग माग राखेको एक कर्मचारीले बताए ।

आन्दोलनरत कर्मचारीले गत चैत ६ गते कार्यकारी निर्देशक डा विधाननिधि पौडेलको कार्यकक्षमा लगाएको तालासमेत अहिलेसम्म खुलेको छैन । जसका कारण प्रशासनिक काममा समस्या भएको व्यवस्थापन पक्षले जनाएको छ ।

विज्ञापन कर्मचारीकै हितमा खोलिएको हो: कार्यकारी निर्देशक डा पौडेल

यता अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले भने पदपूर्ति सम्बन्धी विज्ञापन कानूनसम्बत रहेको दावी गर्छन् । साथै उनले विज्ञापन अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीकै हितमा रहेकोसमेत जिकिर गरे ।

‘१२ वर्षदेखि कर्मचारी पदपूर्ति हुन सकेको थिएन, यसलाई हामीले धेरै एक्ससाइज गरेर यो प्रक्रिया थालेका हौँ’, निर्देशक डा पौडेलले सिभिलखबरसंको कुराकानीमा भने, ‘यो त कर्मचारीका लागि अवसरको कुरा हो नी, हामीले त अस्थायीलाई स्थायी बनाऔँ, स्थायीलाई बढुवा प्रक्रियामा लैजाऔँ भनेर यो प्रक्रिया सुरु गरेको, यहाँ मिस अन्ड्रष्ट्याण्डिङ भयो ।’

२०७० सालमा बनेको विनियमावली अनुसार नै लोकसेवा खोल्नु पर्ने प्रावधान बमोजिम नै पदपूर्ति हुनेसमेत उनको भनाइ छ । ‘कानूनले दिएको अधिकार जति छ त्यसैका आधारमा हुन्छ, कानूनको परिधीलाई त हामी नाघ्न सक्दैनौँ नी’ उनले थपे ।

अदालतको आदेश अनुसार र निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका सर्त र सुविधा) विनियमावली, २०७० को आधारमा विज्ञापन गरिएको उनको दावी छ ।

आज मन्त्रालयमा वार्ता

२ हप्तादेखि विभिन्न चरणमा आन्दोलन चलेपछि आज सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुवै पक्षलाई वार्ताका लागि बोलाएको छ ।

आज दिउँसो सचिव डा कृष्णहरि पुष्करको रोहवरमा अस्पताल व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच वार्ताको तयारी भइरहेको छ । वार्ताबाट निकास निस्कनेमा दुवै पक्ष आशावादी छन् ।

यो पनि पढ्नुहोस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार