गोरखा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ राष्ट्रिय राजनीतिको केन्द्र बन्ने सङ्केत देखिएको छ। परम्परागत राजनीतिक शक्तिहरूलाई नयाँ पुस्ता र युवा अभियन्ताहरूले कडा चुनौती दिने भएपछि यस क्षेत्रको चुनावी मैदान रोचक बन्ने निश्चित भएको हो।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको बलियो पकड मानिने यस क्षेत्रमा ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङको इन्ट्रीपछि पूराना दलले समेत नयाँ अनुहारलाई अघि सार्ने सम्भावना बढेको छ ।
सुदन गुरुङको ‘सरप्राइज’ उम्मेदवारी:
‘हामी नेपाल’ का संस्थापक अध्यक्ष सुदन गुरुङले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत गोरखा १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। भदौ २३ र २४ को जेनजी आन्दोलनबाट चर्चामा आएका गुरुङ भ्रष्टाचार विरोधी अभियान र प्रणाली सुधारको एजेन्डासहित चुनावी मैदानमा उत्रने तयारीमा छन्। उनले कुन दल र चिन्हबाट चुनाव उठ्दैछन् भन्ने बिषय भने खुलाएका छैनन् ।
वैकल्पिक शक्तिका रुपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा उनि हालसम्म आवद्ध भइनसकेको र रास्वपाबाट पार्टीकै अन्य नेताहरुको चर्चा भइरहेकाले पनि उनको उम्मेदवारीलाई लिएर विभिन्न अनुमान भइरहेका छन् । गोरखाको चुमनुब्री गाउँपालिकामा आफ्नो पूर्खाको जन्मथलो रहेको बताउने सुदनलाई सांगठनिक संरचनाको अभाव र पुराना दलहरूको परम्परागत ‘भोट बैंक’ तोड्नुपर्ने दबाब छ ।
कांग्रेसबाट प्रेम कुमार खत्रीको चर्चा:
नेपाली काँग्रेसमा समेत यो पटक नयाँ र युवालाई अवसर दिनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ । काँग्रेस स्रोतका अनुसार आगामी निर्वाचनमा आरुघाटका प्रेम कुमार खत्री सशक्त रुपमा चर्चामा छन् । युवा नेताको छवी बनाएका खत्रीले सम्भव नेपाल संस्था मार्फत भूकम्पअघिदेखि गोरखा १ लाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास लगायतमा काम गरिरहेका छन् ।
सुदनकै उमेर हाराहारीका खत्री नै जेनजी आन्दोलनको मर्म र युवाको मागलाई सम्बोधन गर्न सक्ने उपयुक्त पात्र हुने भन्दै उनैलाई टिकट दिनुपर्नेमा कांग्रेसभित्र ठूलो दबाब छ। अघिल्लो निर्वाचनमा ३३ हजारभन्दा बढी मतसहित विजयी भएका राजेन्द्र बजगाईंको विरासत जोगाउने चुनौतीका बीच खत्रीको चर्चा कांग्रेसको मत सुरक्षित राख्न र तटस्थ साथै युवाको थप मत तान्न सक्ने विश्लेषण गरिएको छ।
हेभिवेट प्रचण्ड २ बाट १ मा सरे:
यसपटक गोरखा १ मा नेकपाले संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को नाम सिफारिस गरेपछि प्रतिस्पर्धा झनै तीव्र हुने देखिएको छ। क्षेत्र नम्बर २ बाट १ मा सर्ने प्रचण्डको तयारीलाई कतिपयले ‘सेफ जोन’ को खोजी भनेका छन्। तर गोरखा १ सुरक्षित नरहेको आन्तरिक ब्रिफिङका कारण प्रचण्ड अहिले चुनावी क्षेत्रको खोजीमा देश दौडाहमा छन् । यदि गोरखा १ बाटै प्रचण्ड उम्मेदवार बने यहाँ चुनावी रौनक थप बढ्ने देखिन्छ ।
एमालेको नयाँ रणनीति:
यता, नेकपा (एमाले) ले पनि पुरानो अनुहारलाई विश्राम दिँदै युवालाई अघि सार्ने सम्भावना छ । विद्यार्थी नेताको छवी बनाएका आरसी लामिछानेलाई अघि सार्नुपर्ने दवाव एमालेमा छ । पार्टीको संगठन र लामिछानेको युवाहरूमाझको लोकप्रियताले पनि यो क्षेत्रको नतिजालाई प्रभाव पार्ने देखिन्छ।
रास्वपामा पूरानैलाई अवसर:
गोरखा १ को अघिल्लो निर्वाचनमा तेस्रो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यसपटक भने धेरैले इच्छा देखाएका छन्। तर, हालसम्मका सङ्केतहरूले जिल्ला सभापति सुवर्ण रोकाय नै ‘घण्टी’ बोकेर मैदानमा उत्रने सम्भावना बलियो देखाएको छ। यसअघि उनले यसै क्षेत्रबाट ४ हजारबढी मत ल्याएका थिए ।