• शुक्रबार, साउन ८ २०८३

आफू पढेको विद्यालयमा प्रेम खत्रीले बनाइदिए सेमिनार हलसहितको भवन


मंगलबार, पुष १५ २०८२
14.4K
Shares

गोरखा । आरुघाट गाउँपालिका ८ आरुपोखरी स्थित दरबार माध्यमिक विद्यालयमा झण्डै ४ करोड लगानीमा नयाँ भवन निर्माण गरिएको छ ।

सोही विद्यालयका पूर्व विधार्थी समेत रहेका सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीको पहलकदमीमा करिब ४ करोड लगानीमा सेमिनार हल, ३ वटा कक्षाकोठा, चमेना कक्षसहितको भवन, सुविधासम्पन्न शौचालय र बाल उद्यान निर्माण गरिएको हो ।

‘हामीलाई कक्षाकोठा अभाव भएर पठनपाठनमा समस्या भइरहेकाले हाम्रै पूर्वविधार्थी प्रेम खत्री र उहाँको संस्थासंग भवन निर्माणको माग गरेका थियौं’ सो विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद भट्टले भने ‘हाम्रो अनुरोधलाई उहाँले स्विकारेर सुविधासम्पन्न भवन, शौचालय र बालउद्यान पनि बनाइदिनु भएको छ, अब सबै कुरा सहज होला भन्ने अपेक्षा छ।’

नवनिर्मित भवन सोमबार एक कार्यक्रमकावीच सम्भव नेपालका अध्यक्ष खत्रीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष मुरारी खनाल र प्रअ भट्टलाई विधालयको चाबी हस्तान्तरण गरेका छन् । भवनको उद्घाटन भने गाउँपालिका अध्यक्ष राजु गुरुङले गरेका हुन् ।

सो भवनमा २ सय जना भन्दा बढी अट्ने क्षमताको सेमिनार हल, कूर्चि, प्रोजेक्टर, ३ वटा फर्निचरसहितको कक्षाकोठा, एउटा चमेना कक्ष र त्यसका लागि आवस्यक टेबल कूर्सी, भाँडाकुँडा, ७ कोठाको सुविधासम्पन्न शौचालय र बाल उद्यान समेत निर्माण गरिएको सम्भव नेपालका परियोजना व्यवस्थापक उत्तम अधिकारीले बताए ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले पूर्व विधार्थीको हैसियतमा दायित्व पूरा गरेको बताए । आफू भुइँमा बसेर पढेको स्मरण गर्दै खत्री सम्बोधनका क्रममा भावुक समेत बने ।

आफू जन्मेको ठाउँ, पढेको विधालय, गुरुहरु कसैलाई कहिल्यै भुल्न नहुने बताउँदै उनले विद्यालयको शैक्षिक र भौतिक विकासमा सधै तत्पर रहेको बताए ।

‘हामीले जन्मेको, हुर्केको, पढेको ठाउँलाई कहिल्यै कसैले बिर्सनु हुदैन, अहिले हामी जो जहाँ छौ, त्यसको जग नै यहि हो’ खत्रीले थपे ‘सबैले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिदिने हो भने सरकारको धेरै आशै गर्नुपर्दैन ।’

उनले केहि बर्षअघिदेखि सो विद्यालयसहित गाउँपालिकाभरका विधार्थीहरुका लागि ट्राकसुट, ड्रेससहित शैक्षिक सामग्रीहरु समेत नियमित रुपमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमकै अवसरमा विद्यालयको ६५औं बार्षिकोत्सव तथा अभिभावक दिवस सहमारोह समेत सोमबार नै सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्ण बहादुर दाहालको विशेष आतिथ्यता रहेको थियो ।

सो अवसरमा बालखेल, खुला अग्रेंजी वतृत्वकला प्रतियोगिता, अन्तर सदनात्मक नृत्य प्रतियोगिताहरु समेत सम्पन्न भएको प्रअ भट्टले बताए । त्यस्तै कार्यक्रमकै अवसरमा शैक्षिक पुरस्कार, विद्यालयमा स्थापित बिभिन्न अक्षयकोष दाताहरुबाट विधार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको उनको भनाई छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार