• शुक्रबार, साउन ८ २०८३

डिजिटल बाल्यकाल: “मौन संकटको संकेत”


मंगलबार, चैत्र २४ २०८२
4.5K
Shares

-सञ्जिता थापा

साँझको करिब सात बजेको समय थियो। टोलमा बत्ती बलिसकेको थियो, र घर–घरबाट भान्साको गन्ध आउँदै थियो। म छिमेकीको आँगनको बाटो घर फर्किदै थिए , त्यही बेला भित्रबाट अचानक कराउने आवाज आयो—“देऊ नं. अहिले मेरो पालो हो!” नानीबाबु किन कराउदै छन् भनेर हेरेको त दुई जना दाजुभाई एउटै मोबाइल समातेर तानातान गरिरहेका थिए। स्कुलको ड्रेस अझै फेरेका थिएनन्, झोला एकछेउमा फालिएको थियो। सानोले मोबाइल कस्सिएर समातेको, ठूलाले खोस्न खोज्दै—आँखामा रिस, मुखमा जिद्दी।

“आज म पहिले हेर्छु भनेको थिएँ!” ठूलोले करायो। “हिजो तिमीले धेरै बेर हेरेको!” सानोले जवाफ दियो।

त्यसपछि तानातान झन् चर्कियो। मोबाइल झन्डै भुइँमा खस्ने जस्तो भयो। आवाज बढ्दै गयो । भान्साबाट दिदी हतारिँदै निस्किनुभयो, हातमा तरकारी काटदै गरेको हसिया सगै थियो । अनुहार पसिनाले भिजेको, दिनभरको थकान प्रस्टै देखिन्थ्यो। “किन यति झगडा गरेकोरु” भन्दै उहाँले मोबाइल खोस्न खोज्नुभयो। तर बच्चाहरू अझै मान्न तयार थिएनन्।

केही क्षणमै स्थिति झन् तातियो। अन्ततः, दिदीको धैर्य टुट्यो—दुई–चार चड्कन परे। घर एक्कासी चुप लाग्यो, तर त्यो चुप्पीमा सानोको सुँक्क–सुँक्क रोएको आवाज सुनिन्थ्यो। एकैछिन पछी आमाको मन त हो खै के सोच्नुभयो, दिदीले सास फेर्दै मोबाइल फेरि दिनुभयो—“ लौ मुन्टी यहि हेरेर बस, खान नि नपर्ला नि अब ।”

अब ठूलो बच्चा कुनामा बस्यो, मोबाइल हातमा लिएर स्क्रिनमा डुब्यो। सानो छेउमै बसेर पर्खिरहेको—आँखा मोबाइलमै टाँसिएको, आँसु पुछ्दै। कोठामा अब आवाज थिएन, केवल स्क्रिनको हल्का उज्यालो र कहिलेकाहीँ आउने डिजिटल धुन। बाहिरबाट हेर्दा घर शान्त देखिन्थ्यो। तर भित्र, केही समयअघिको हल्ला, रिस, र आँसु अझै हावामा बाँकी जस्तो लाग्थ्यो—मानौं त्यो सानो मोबाइलले केही बेरका लागि सबै थामेको छ, तर भित्र कतै केही अझै अस्थिर नै छ। आजकल धेरै परिवार को कथा हो ।

मेरो कामको सिलसिलामा केही विद्यालयका बालकक्षामा पुग्दा अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत “स्क्रिन प्रयोग” विषयमा छलफल गर्ने अवसर पाएँ। सुरुमा सामान्य जस्तो लागेको कुरा बिस्तारै गहिरिँदै गयो, र अभिभावकहरूका अनुभव सुन्दा मन नै भारी भयो। साना नानिबाबुहरू—जो बिहान सबेरै स्कूल जान्छन्—उनीहरू खाजा खाने बेला, पढ्न बस्दा, यहाँसम्म कि सुत्नुअघि पनि मोबाइलकै लागि बार्गेनिङ गर्छन् भन्ने कुरा अभिभावकहरूले सुनाउनुभयो।

सञ्जिता थापा

“पहिला मोबाइल देऊ, अनि मात्रै खान्छु”, “अलि बेर मोबाइल हेर्न देऊ, अनि होमवर्क गर्छु”—यी वाक्यहरू धेरै घरको दैनिकी बनेका रहेछन्। सुन्दा अचम्म लाग्ने, तर हाम्रो आफ्नै घर–छिमेकको यथार्थ जस्तो लाग्ने यी कथाहरूले एउटा गहिरो प्रश्न उठाउँछन्—हामी कहाँ चुक्यौँ”

बालबालिका त जन्मँदै मोबाइलको लत लिएर आउँदैनन्। सायद, हतारमा “ला, मोबाइल हेर” भन्दै, काम गर्दा “जाउ, टिभी हेरेर बस” भनेर, रोएपछि “मोबाइल दिएर चुप गराउने” हाम्रो सानो–सानो व्यवहारले नै बिस्तारै यो बानी बसाएको हो किरु जब बच्चाले हामीसँग खेल्न, कुरा गर्न खोज्छ, त्यही बेला हामी आफैँ स्क्रिनमा व्यस्त हुन्छौँ भने उनीहरूले कसरी मानवीय सम्बन्धको न्यानोपन सिकून्रु कतै हामीले उनीहरूको फुर्सदको समय साथ बिताउने सट्टा स्क्रिनसँग बाँडिदिएका त छैनौँरु अब दोष कसलाई दिने भन्दा पनि, सायद यो समय आफैँलाई सोध्ने हो—अब पनि सचेत नभए कहिले हुनेरु बालबालिकाको प्रारम्भिक उमेर (ECD) त माया, संवाद र सहअस्तित्वले फुल्ने समय हो—के हामीले त्यो स्थान अनायासै स्क्रिनलाई सुम्पिरहेका त छैनौँ

असरहरु:
बढ्दो मोबाइल प्रयोगसँगै साना बालबालिकामा यसप्रति लत बस्ने अवस्था प्रस्ट देखिन थालेको छ। मोबाइल, टिभी जस्ता स्क्रिनमा धेरै समय बिताउँदा केवल आँखाको ज्योतिमा मात्र होइन, उनीहरूको शारीरिक विकास र सोच्ने–बुझ्ने क्षमतामा पनि असर पर्छ।

उदाहरणका लागि, घण्टौँ एउटै ठाउँमा बसेर भिडियो हेर्दा बच्चाहरू कम हिँडडुल गर्छन्, जसले उनीहरूको मांसपेशी विकास र सक्रियता घटाउँछ। कतिपय बालबालिका खेलमैदानमा खेल्नुभन्दा मोबाइलमा गेम खेल्न रुचाउन थाल्छन्। त्यसैगरी, धेरै स्क्रिन हेर्ने बच्चाहरू ढिलो सुत्ने, राति पटक–पटक ब्युँझिने जस्ता समस्या पनि देखिन्छन्।

सामाजिक रूपमा पनि यसको प्रभाव गम्भीर हुन्छ। मोबाइलमा व्यस्त हुँदा बच्चाहरू घरका सदस्यसँग कुरा कम गर्छन्, साथीहरूसँग खेल्ने बानी हराउँदै जान्छ। उदाहरणका लागि, परिवार सँगै बस्दा पनि बच्चा मोबाइलमै ध्यान दिएर बस्छ, आमाबाबुले बोलाउँदा पनि ढिलो प्रतिक्रिया दिन्छ।

बिस्तारै उनीहरूको भाषा विकासमा ढिलाइ हुन सक्छ—नयाँ शब्द सिक्ने, आफ्ना भावना व्यक्त गर्ने क्षमता कमजोर हुन सक्छ। यसरी, स्क्रिनको अत्यधिक प्रयोगले बालबालिकालाई वास्तविक जीवनका अनुभव र सम्बन्धबाट टाढा लैजाँदै, उनीहरूको समग्र विकासमा नकारात्मक असर पारिरहेको देखिन्छ।

साना बालबालिकालाई मोबाइल को लतबाट कसरी टाढा राख्ने प्रयास गर्ने ?

बालबालिका काँचो माटो जस्ता हुन्छन्—हामीले जस्तो वातावरण दिन्छौँ, उनीहरू त्यस्तै बन्छन्। उनीहरूले देखेर सिक्छन्, हाम्रो व्यवहारकै नक्कल गर्छन्। त्यसैले, जब बच्चा पढ्दै वा खेल्दै हुन्छ, त्यही बेला हामी आफैँ स्क्रिनमा डुबेर बस्यौँ भने उनीहरूलाई के सन्देश जान्छरु बरु त्यस्तो समयमा उनीहरूको नजिक बसौँ, साथ दिऔँ, उनीहरूको अनुहारको भाव पढौँ—के सोच्दैछन्, के महसुस गर्दैछन् भन्ने बुझ्ने प्रयास गरौँ। सुत्नुअघि स्क्रिनले उनीहरूको निद्रामा असर पार्छ भन्ने बुझेर, मायालु तर स्पष्ट नियम बनाऔँ—राति सुत्नु अघि मोबाइल नहेर्ने।

त्यसको सट्टा, कथा सुनाऔँ, गीत गाउँ, सानो कुराकानी गरौँ—जसले उनीहरूको मन शान्त बनाओस् र उनीहरू सुरक्षित महसुस गरून्। मोबाइल दिनै पर्ने अवस्था आयो भने पनि त्यसलाई नियन्त्रित र सजग तरिकाले दिनु जरुरी हुन्छ।

समय तोकेर, स्पष्ट नियम बनाएर—जस्तै, दिनमा आधा घण्टाभन्दा बढी स्क्रिन नहेर्ने—जस्ता सिमाना निर्धारण गरौँ। बच्चालाई पहिले नै मायालु तर दृढ तरिकाले सम्झाऔँ कि मोबाइल हेर्ने समय सीमित हुन्छ, र त्यो समय सकिएपछि अरू गतिविधिमा फर्किनुपर्छ। यसरी बनाइएका साना तर स्पष्ट नियमहरूले बालबालिकामा अनुशासन बस्छ, र उनीहरू बिस्तारै स्क्रिनभन्दा बाहिरको संसार—खेल, कुराकानी र सिर्जनात्मक गतिविधिमा रमाउन सिक्छन्।

फुर्सदको समयमा बच्चालाई एक्लै स्क्रिनतिर नधकेलौँ, बरु हामी आफैँ उनीहरूको संसारमा पसौँ—बच्चा जस्तै बनेर सँगै खेलौँ, हाँसौँ, कुरा गरौँ। “आज स्कूलमा के गर्‍यौरु कसरी गर्‍यौरु” भनेर सोधौँ, उनीहरूको सानो–सानो अनुभवलाई महत्व दिऔँ। सँगै खेल्ने, गीत गाउने, कथा सुनाउने र उनीहरूलाई पनि सुनाउन प्रोत्साहित गर्ने गरौँ। यसरी बिताएको समयले केवल मनोरञ्जन मात्र होइन, गहिरो सम्बन्ध निर्माण गर्छ—जहाँ बच्चाले आफूलाई सुनेको, बुझेको र माया पाएको महसुस गर्छ।

यही माया, स्पर्श र साथले उनीहरूको मन भरिन्छ। बिस्तारै उनीहरूले स्क्रिनभन्दा मानिससँगको सम्बन्धमा आनन्द पाउन थाल्छन्। उनीहरूको बोली खुल्छ, आत्मविश्वास बढ्छ, र सिक्ने चाहना अझै मजबुत हुन्छ। यही न्यानोपन र साथले उनीहरूको बानी परिवर्तन हुँदै जान्छ, र उनीहरू स्वस्थ, असल र सफल जीवनतर्फ अघि बढ्न सहज महसुस गर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार