• आइतबार, असोज ४ २०८३

गण्डकी सरकारबाट माग सम्बोधनको प्रतिबद्धतापछि मनास्लु बेस क्याम्पको आमरण अनशन स्थगित


आइतबार, असोज ४ २०८३
190
Shares

गोरखा । हिमाली क्षेत्रको जनजीवन, हिमाली सभ्यता र वातावरण संरक्षणको माग गर्दै मनास्लु बेस क्याम्पमा तीन दिनदेखि जारी युवाहरूको आमरण अनशन स्थगित भएको छ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले अनशनरत युवाहरूले उठाएका महत्वपूर्ण माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको अनशन टोलीका संयोजक दावा नुर्बु लामाले जानकारी दिए।

अनशनरत युवाहरूलाई अनशन फिर्ता लिएर वार्ता तथा संवादमार्फत माग सम्बोधनका लागि पहल गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एमक्यापले आइतबार पत्राचार गरेका थिए। सम्बन्धित निकायबाट माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता आएपछि अनशन स्थगित गरी टोली सामागाउँ फर्किएको लामाले बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण, हिमताल विस्फोटको सम्भावित जोखिमबाट बस्तीलाई सुरक्षित राख्नुपर्ने तथा हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने माग गर्दै उनीहरू गत शुक्रबारदेखि अनशनमा बसेका थिए।

अनशनरत युवाहरूले हिमाली गाउँबस्तीभन्दा माथिल्लो क्षेत्रमा नयाँ हिमताल तथा हरित तालहरू थपिँदै गएको र वीरेन्द्रताललगायतका हिमतालमा पानीको सतह बढिरहेको भन्दै नियमित निगरानी तथा मापनका लागि आधुनिक प्रविधि जडान गर्न माग गरेका छन्। सम्भावित जोखिमबाट स्थानीय बस्तीलाई सुरक्षित राख्न जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली तथा साइरन जडान गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तन, यसको प्रभाव तथा जोखिम न्यूनीकरणका उपाय समेटिएको पाठ्यक्रम निर्माण गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिमबारे विस्तृत अध्ययन गर्नुपर्ने, नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालको नियमित तथा संयुक्त निगरानी गर्नुपर्ने र हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।

विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान न्यून भए पनि त्यसको प्रत्यक्ष प्रभाव हिमाली समुदायले भोग्नुपरेको भन्दै युवाहरूले जलवायु क्षतिपूर्ति र जलवायु न्यायको विषयलाई समेत उठाएका छन्।

दावा नुर्बु लामाको नेतृत्वमा निमा छिरिङ लामा, लेक्ष्य लामा, पासाङ नोर्बु लामा, छिरिङ फुञ्सोक लामा, टासी डुण्डुप लामा, छेवाङ घ्यूर्मे लामा, छेवाङ बाबा लामा, कर्मा छिरिङ लामा, पेम्बा छिरिङ लामा र पेम्बा गुरुङसहित ११ जना युवा अनशनमा सहभागी थिए।

सम्बन्धित निकायबाट माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता आएपछि तत्कालका लागि अनशन स्थगित गरिएको भए पनि मागहरूको कार्यान्वयनको अवस्थाअनुसार आगामी कदम तय गरिने अनशन टोलीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार