भरतपुर । सूचना प्रविधि, कृषि विज्ञान र व्यवसायलाई एउटै उद्यममा जोड्दै चितवनका चार युवाले फूलखेतीमा नयाँ सम्भावना खोजिरहेका छन् । फरक–फरक शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि भएका उनीहरूले भरतपुरमा व्यावसायिक फूलखेती सुरु गरेर कृषिलाई आधुनिक उद्यमका रूपमा विकास गर्ने प्रयास थालेका हुन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा ‘गाउँले एग्रिकल्चर’ स्थापना गरी फूलखेती गरिरहेका उनीहरूको उद्देश्य फूल उत्पादनमा मात्र सीमित छैन । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको व्यवस्थित कृषि व्यवसाय निर्माण गर्ने उनीहरूको योजना छ ।
यस समूहको नेतृत्व कृषि विज्ञान अध्ययनरत २३ वर्षीय सागर पोखरेलले गरिरहेका छन् । रामपुर कृषि क्याम्पसमा बीएससी एजी अन्तिम वर्षमा अध्ययनरत पोखरेललाई वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीएससी सीएसआईटी गरेका २५ वर्षीय अभिजित सापकोटा र बालकुमारी क्याम्पसमा बीआईटी अध्ययनरत २३ वर्षीय मनोज गुरुङले साथ दिएका छन् । प्रिन्टिङ व्यवसायमा संलग्न आशिष श्रेष्ठ पनि समूहका सक्रिय सदस्य हुन् ।
अर्को संयोग त के छ भने उनिहरु चारै जना गोरखाका हुन् । हाल चितवनलाई कर्मभूमि बनाउदै उनिहरुले कृषि, सूचना प्रविधि र व्यवसायको ज्ञानलाई एकै ठाउँमा उपयोग गर्ने उद्देश्यले उनीहरूले यो उद्यम सुरु गरेका हुन् । अध्ययनका क्रममा प्राप्त ज्ञान र सीपलाई रोजगारीको खोजीमा विदेश लैजानुभन्दा आफ्नै ठाउँमा प्रयोग गर्न सकिने उनीहरूको विश्वास छ ।
यसअघि उनीहरूले शारदानगरमा डेढ बिघा जमिनमा खर्बुजा खेती गरेर सफल प्रयोग गरिसकेका छन् । त्यसबाट प्राप्त अनुभवपछि उनीहरू फूलखेतीतर्फ आकर्षित भएका हुन् । अहिले ठिमुरामा १० कठ्ठा जमिनबाट सुरु गरिएको फूलखेतीलाई आगामी दिनमा एक बिघासम्म विस्तार गर्ने तयारी छ ।
‘कृषि हाम्रो बाध्यता होइन, भविष्य हो । यसमा सम्भावना र सपना दुवै छन्,’ पोखरेल भन्छन्, ‘इजरायलजस्ता देशले कृषि क्षेत्रमा प्रयोग गरेका आधुनिक प्रविधि नेपालमा पनि भित्र्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । पढेको कुरा र सिकेको सीप विदेशमा बेच्नुभन्दा आफ्नै देशमा उपयोग गर्ने हाम्रो योजना छ ।’
उनीहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूल उत्पादन तथा बिक्रीको योजना बनाएका छन् । यस सिजनमा फूल र मालाको बिक्रीबाट करिब ६ लाख रुपैयाँ आम्दानी हुने उनीहरूको अपेक्षा छ । तिहारमा मात्र नभई विवाह, व्रतबन्ध, सभा–समारोह तथा विभिन्न उत्सवमा समेत फूलको माग बढ्दै गएकाले यसलाई वर्षभरि सञ्चालन गर्न सकिने व्यवसायका रूपमा उनीहरूले लिएका छन् ।
उत्पादन मात्रै होइन, फूलको व्यावसायिक बजार बनाउने लक्ष्य
नेपालमा फूलको माग बढ्दै गए पनि व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणमा अझै पर्याप्त सम्भावना रहेको उनीहरूको बुझाइ छ । त्यसैले गाउँले एग्रिकल्चरले उत्पादनसँगै फूलको ग्रेडिङ, प्याकेजिङ, माला निर्माण र बजार व्यवस्थापनलाई पनि आफ्नो व्यावसायिक योजनामा समेटेको छ ।
‘हामी चितवनलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउँदै भविष्यमा फ्लोरिकल्चर हबका रूपमा विकास गर्न चाहन्छौँ,’ सापकोटा भन्छन्, ‘फूल उत्पादन गरेर बिक्री गर्ने मात्रै होइन, यसको ग्रेडिङ, प्याकेजिङ, माला निर्माण र व्यवस्थित बजारीकरणसम्मका कामलाई व्यावसायिक बनाउनुपर्छ भन्ने हाम्रो सोच हो ।’
उनीहरूका अनुसार कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादनको गुणस्तर र बजारको सुनिश्चितता हुन सके युवाका लागि यो आकर्षक पेसा बन्न सक्छ । त्यसका लागि सरकारी निकायबाट प्रोत्साहन, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा सहजीकरण आवश्यक रहेको उनीहरूको धारणा छ ।
चार युवाको यो प्रयासले एउटा फरक सन्देश पनि दिएको छ । कृषि पढेका युवाले मात्रै होइन, सूचना प्रविधि र अन्य व्यावसायिक क्षेत्रको ज्ञान भएका युवाले पनि कृषिमा सम्भावना खोज्न सक्छन् । आवश्यक ज्ञान, प्रविधि, लगानी र सामूहिक प्रयास जुटाउन सके आफ्नै माटोमा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बन्ने उनीहरूको अपेक्षा छ ।
विदेशमा अवसर खोज्ने युवाको भीडबीच ठिमुरामा फूलखेती गरिरहेका यी युवाको सपना भने आफ्नै ठाउँमा फूलसँगै रोजगारी र सम्भावनासमेत फुलाउने हो । आफूहरुले फुलाएका फुल र मालाको आवस्यकता परे ९८५६०७७७५२ मा सम्पर्क गर्न उनिहरुले अनुरोध गरेका छन् ।
तस्विरहरु: मोहसिन अलि मियाँ/सिभिलखबर