भरतपुर । संगीतमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी सौराहामा पहिलो पटक लोकप्रिय नेपाली ब्याण्ड नेपथ्यले सांगीतिक प्रस्तुति दिने भएको छ । आज मंसिर ३ गतेसौराहास्थित सिसुवार मैदानमा हुने विशेष सांगीतिक कार्यक्रममा करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ सांगीतिक आयाम थप्ने अपेक्षा गरिएको छ ।
नेपाल डायरिज र एबी ईभेन्ट्सको संयुक्त आयोजना तथा रत्ननगर नगरपालिकाको संरक्षणमा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रम संयोजक आशिष श्रेष्ठका अनुसार सौराहामा पहिलो पटक नेपथ्यलाई प्रस्तुत गर्न लागिएको हो ।
‘सौराहामा पहिलो पटक नेपथ्यलाई ल्याउँदैछौँ । संगीतका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ श्रेष्ठले भने, ‘यस कार्यक्रमले सौराहालाई पर्यटनसँगै सांगीतिक गन्तव्यका रूपमा समेत चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।’
वन्यजन्तु, प्राकृतिक सौन्दर्य र आतिथ्य सत्कारका कारण देश–विदेशमा परिचित सौराहामा हुने यस कार्यक्रमले पर्यटक तथा संगीतप्रेमीलाई आकर्षित गर्ने आयोजकको विश्वास छ । कार्यक्रम हेर्न आउने दर्शकका कारण होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य स्थानीय व्यवसायमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमस्थलमा दर्शकका लागि आज दिउँसो ४ बजेदेखि प्रवेश खुला गरिनेछ । नेपथ्यका मुख्य गायक अमृत गुरुङको प्रस्तुति भने साँझ ६ बजेदेखि ८ बजेसम्म रहने आयोजकले जनाएको छ । विद्यार्थी सहुलियत, अर्ली बर्ड, रेगुलर र भीआईपी गरी विभिन्न श्रेणीका टिकटको व्यवस्था गरिएको छ ।
कार्यक्रम संयोजक श्रेष्ठका अनुसार नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्याण्डको टोली केहि दिनअघि नै सौराहा आइसकेको छ । कार्यक्रमको व्यवस्थापन, सुरक्षा र दर्शकको सहज प्रवेशलगायतका तयारीलाई अन्तिम रूप दिइएको आयोजकले जनाएको छ । कार्यक्रममा चितवनसहित नवलपरासी, नवलपुर, गोरखा, तनहुँ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट दर्शक तथा संगीतप्रेमी सहभागी हुने अपेक्षा गरिएको छ । यसअघि आयोजक संस्थाले गत वर्ष नारायणगढको क्याम्पाचौरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना गरेको थियो ।
सौराहामा पहिलो पटक हुन लागेको नेपथ्यको यो प्रस्तुति केवल सांगीतिक मनोरञ्जनमा सीमित नरही चितवनको पर्यटन प्रवद्र्धन, स्थानीय व्यवसायको चलायमानता र सौराहाको नयाँ पहिचान निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ ।