भरतपुर । नारायणी नदीकिनारबाट अब नदीको दृश्य मात्र होइन, आकाशबाट भरतपुर नियाल्ने अवसर पनि थपिने भएको छ । भरतपुरस्थित नारायणी नदीकिनारमा आयोजना हुने दोस्रो संस्करणको ‘नारायणी महोत्सव २०८३’ मा हट एयर बेलुन र जिरो ग्र्याभिटी राइडजस्ता नयाँ मनोरञ्जनात्मक गतिविधि थपिने भएका छन् ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी मंसिर २ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवलाई यस वर्ष थप आकर्षक, व्यवस्थित र मनोरञ्जनात्मक बनाउने तयारी गरिएको हो । आयोजकका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक विक्कल क्षेत्रीले यस वर्ष दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले फरक प्रकृतिका मनोरञ्जनात्मक गतिविधि थप गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवको प्रमुख आकर्षणमध्ये हट एयर बेलुन र जिरो ग्र्याभिटी राइड रहनेछन् ।
विशेषगरी हट एयर बेलुनमार्फत आकाशबाट नारायणी नदी, भरतपुर बजार तथा आसपासको प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले यसले दर्शकको ध्यान आकर्षित गर्ने आयोजकको अपेक्षा छ । त्यस्तै, जिरो ग्र्याभिटी राइडले युवापुस्ता तथा साहसिक मनोरञ्जन रुचाउने दर्शकलाई लक्षित गर्नेछ । यी गतिविधि आवश्यक अनुमति र सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गरिने संयोजक क्षेत्रीले बताए ।
महोत्सव परिसरमा पिरामिड शैलीको आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल तथा राइडसमेत सञ्चालन हुनेछन् । महोत्सवमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार रहनेछन् ।
बाढीले बिगारेको नदीकिनारको पुनःस्थापना
केही समयअघि आएको बाढी तथा वर्षाका कारण नारायणी नदीकिनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए । महोत्सव सञ्चालनका लागि आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा मेसिनरी तथा जनशक्ति परिचालन गरी नदीकिनारको पुनःस्थापना, सरसफाइ, जमिन सम्याउने र सौन्दर्यीकरणको काम सम्पन्न गरेको जनाएको छ ।
नदीकिनारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै पर्यटन तथा सार्वजनिक गतिविधिका लागि उपयोगी क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुनःस्थापनाको काम गरिएको संयोजक क्षेत्रीको भनाइ छ ।
स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा जोड
महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधि बढाउने अवसरका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । स्थानीय व्यवसायी, उद्यमी तथा साना उद्योगलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरणका लागि महोत्सवले अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, स्थानीय कलाकार तथा सांस्कृतिक प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । महोत्सवले भरतपुर तथा समग्र चितवनको आन्तरिक पर्यटन प्रवर्द्धनसँगै होटल, रेस्टुरेन्ट र अन्य व्यवसायको कारोबार बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिनेछ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने संयोजक क्षेत्रीले बताए ।
१६ दिनसम्म सञ्चालन हुने नारायणी महोत्सवले नदीकिनारलाई मनोरञ्जन, व्यापार र पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।