गोरखा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात एवं स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले गोरखाको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार प्रदेश अस्पताल गोरखा र प्रदेश जनस्वास्थ्य कार्यालयको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री न्यौपानेले स्वास्थ्य सेवा सुधारका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् ।
अनुगमनका क्रममा मन्त्री न्यौपानेले प्रदेश अस्पताल गोरखामा डिजिटल भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरे । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा विकसित प्रणालीमार्फत क्यूआर कोड प्रयोग गरी डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । नयाँ प्रणालीले अस्पतालको भुक्तानी प्रक्रियालाई सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा मन्त्री न्यौपानेले अस्पतालमा जनशक्ति उपलब्ध भएर मात्रै नहुने भन्दै त्यसअनुसार प्रभावकारी सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । अस्पताललाई आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्य सामग्री व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने उनको भनाइ थियो ।
प्रदेश अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक आधारभूत पूर्वाधार र सेवा व्यवस्थापनको तयारी गर्न अस्पताल प्रशासनलाई आग्रह गरे । अस्पतालले स्तरोन्नतिका लागि आवश्यक आधार तयार गरे मन्त्रालयले सहयोग गर्ने उनले बताए ।
मन्त्री न्यौपानेले बिरामीलाई उपचारसँगै उचित परामर्श दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे । ‘मुस्कानसहितको सेवा दिनुहोस् । बिरामीलाई के कारणले समस्या भएको हो भन्नेबारे बुझाएर परामर्श पनि दिनुहोस्,’ उनले भने, ‘पछिल्लो समय नसर्ने रोगसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्दै गएकाले अस्पतालले त्यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।’
यसैबीच, मन्त्री न्यौपानेले प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको पनि अनुगमन तथा निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा जिल्लाको स्वास्थ्य क्षेत्रका प्रमुख चुनौती, कार्यालयबाट सञ्चालित कार्यक्रम तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण र छलफल गरिएको थियो ।
सो अवसरमा उनले समुदायस्तरमै पुगेर नागरिकका वास्तविक स्वास्थ्य समस्या पहिचान तथा विश्लेषण गर्न निर्देशन दिए । पहिचान भएका समस्याका आधारमा प्रभावकारी कार्ययोजना निर्माण गरी तत्काल कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
अस्वस्थकर खानपान र निष्क्रिय जीवनशैलीका कारण बढ्दै गएका रोगको रोकथामका लागि समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि उनले आग्रह गरे ।
जनस्वास्थ्यका कार्यक्रममार्फत जिल्लावासीलाई स्वस्थ राख्न प्रदेश जनस्वास्थ्य कार्यालयले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा मन्त्री न्यौपानेले जोड दिए ।