काठमाडौं । भोटेकोशीमा आएको बाढीले जनजीवन प्रभावित भएको दुई महिनापछि रसुवाको दुर्गम बस्तीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढीपछिको स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै प्रभावित क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट करिब ५ सय जनाले सेवा लिएका छन्।
कार्तिक १४ गते कालिका गाउँपालिका–१ स्थित ग्राङमा पोस्ट डिजास्टर क्याम्प (विपद्पछिको स्वास्थ्य शिविर) सञ्चालन गरिएको हो। श्री सत्य साई सेवा अर्गनाइजेशन नेपालको आयोजनामा तथा हिमालयन हार्ट एण्ड हिलिङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउन आयोजना गरिएको शिविरमा विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, काठमाडौंको मेट्रो अस्पताल, अल्का अस्पताल तथा नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरमा दन्तरोग, हाडजोर्नी, स्त्रीरोग तथा जनरल मेडिसिनलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। स्थानीयले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्राप्त गरेका थिए।
विशेषगरी नियमित स्वास्थ्य परीक्षणका लागि टाढाका स्वास्थ्य संस्था तथा अस्पताल पुग्नुपर्ने बाध्यता रहेका स्थानीयका लागि शिविर उपयोगी बनेको आयोजकले जनाएको छ। शिविरमा महिला, ज्येष्ठ नागरिक तथा विपद्बाट प्रभावित समुदायका सदस्य प्रत्यक्ष लाभान्वित भएका थिए।
शिविरमा स्वास्थ्य सेवा लिन आउने सबैका लागि खानाको समेत व्यवस्था गरिएको थियो। स्वास्थ्य परीक्षण, औषधि वितरण र खानाको व्यवस्थासहित सञ्चालन गरिएको शिविरले स्थानीय नागरिकलाई एकै स्थानमा विभिन्न स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर दिएको थियो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक डा.जाविर अहमद मियाँका अनुसार विपद्पछि प्रभावित समुदायमा स्वास्थ्य सेवाको आवश्यकता अझ बढ्ने भएकाले विशेषज्ञ चिकित्सकसहितको शिविर सञ्चालन गरिएको हो।
बाढी तथा अन्य प्राकृतिक विपद्पछि प्रभावित क्षेत्रमा सरसफाइ, सुरक्षित खानेपानी, पोषण, मानसिक स्वास्थ्य र विभिन्न संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ छ। यस्तो अवस्थामा प्रभावित समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्दा उपचारको पहुँचबाट टाढा रहेका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले सो क्षेत्रमा शिविर चलाईएको डाक्टर मियाँले बताए ।
विपद्पछि तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रमसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको शिविरमा संलग्न चिकित्सकको जोड छ। विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू विपद्का समयमा थप जोखिममा पर्ने भएकाले उनीहरूलाई लक्षित स्वास्थ्य कार्यक्रम आवश्यक रहेको उनिहरुको भनाई छ ।
ग्राङमा सञ्चालन गरिएको पोस्ट डिजास्टर क्याम्पले विपद्पछिको स्वास्थ्य सेवामा सामूहिक सहकार्यको महत्वसमेत उजागर गरेको छ। विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्य संस्था तथा सामाजिक संस्थाको सहकार्यमा सञ्चालन हुने यस्ता कार्यक्रमले दुर्गम र प्रभावित क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।