• मंगलबार, कार्तिक २५ २०८३

परदेशमा पसिना मात्र होइन, लगानी पनि बगाउँदै नेपाली युवा

यूएईमा नेपाली युवाहरूले खोले ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’


मंगलबार, कार्तिक २५ २०८३
130
Shares

काठमाडौं । रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको परिचय अब श्रमिकमा मात्र सीमित छैन। अवसरको खोजीमा परदेश पुगेका केही युवा त्यहीँ आफ्नो सीप, अनुभव र पुँजी लगाएर उद्यमीका रूपमा समेत स्थापित हुन थालेका छन्। यसको पछिल्लो उदाहरण हो, संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा सञ्चालनमा आएको नेपाली युवाको संयुक्त लगानीको बेकरी तथा क्याफे।

शिशिर श्रेष्ठसहित दुई नेपाली युवा उद्यमीको संयुक्त लगानीमा ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ नामक बेकरी तथा क्याफे सञ्चालनमा आएको हो। क्याफेको उद्घाटन वरिष्ठ पत्रकार तथा साहित्यकार शिव उप्रेतीले गरेका हुन्।

वैदेशिक रोजगारीका लागि यूएई पुगेका नेपाली युवाले आफ्नै लगानीमा व्यवसाय सुरु गर्नु विदेशमा नेपाली उद्यमशीलताको विस्तारका रूपमा हेरिएको छ। अरूको व्यवसायमा काम गर्न विदेश पुगेका युवाले अवसर पहिचान गरी आफ्नै व्यवसाय सञ्चालन गर्नुले नेपाली युवामा उद्यमशीलताको सम्भावना पनि उजागर गरेको छ।

क्याफेमा विभिन्न स्वादका कुकीज, ताजा क्रोइसाँ, केक तथा कफी उपलब्ध हुने सञ्चालकहरूले बताएका छन्। गुणस्तरीय परिकार र उत्कृष्ट सेवामार्फत ग्राहकलाई फरक अनुभव प्रदान गर्ने उद्देश्यसहित व्यवसाय सुरु गरिएको उनीहरूको भनाइ छ।

विदेशमा रहेर पनि आफ्नै व्यवसाय सञ्चालन गर्ने प्रयासले नेपाली युवाले श्रमसँगै लगानी र उद्यमशीलताको क्षेत्रमा पनि सम्भावना खोजिरहेको देखाउँछ। यसले विदेशमा आर्जित सीप, अनुभव र पुँजीलाई व्यवसायमा रूपान्तरण गर्ने नयाँ बाटोसमेत देखाएको छ।

‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ को सुरुवातले परदेशमा नेपाली युवा रोजगारी खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने उद्यमीका रूपमा पनि अघि बढ्न सक्छन् भन्ने सन्देश दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार