काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले कतिपय बालबालिकाको घर मात्रै बगाएन, उनीहरूको जीवनबाट आमा, बुवा र अभिभावकको न्यानो साथसमेत खोस्यो। कसैले आमाको माया गुमाए, कसैले बुवाको सहारा। बाढीले उनीहरूको बाल्यकालका खुसी र सुरक्षित भविष्यका सपनासमेत प्रभावित बनायो।
अभिभावक गुमाएका र बाढीबाट प्रभावित ती बालबालिकाको जीवनमा फेरि आशा जगाउने प्रयास सुरु भएको छ। उनीहरूको पढाइ नरोकिने, विद्यालयमै बस्ने र खाने सुरक्षित व्यवस्था हुने वातावरण निर्माण गर्न सम्भव नेपालले सहयोग गरेको छ।
रसुवाको उत्तरगया गाउँपालिका–२, डाँडागाउँस्थित डाँडागाउँ माध्यमिक विद्यालयमा आवासीय सुविधा सञ्चालन तथा व्यवस्थापनका लागि सम्भव नेपालले आवश्यक सामग्री सहयोग गरेको हो।
सम्भव नेपालका संस्थापकसमेत रहेका समाजसेवी प्रेमकुमार खत्री विद्यालयमै पुगेर आवासीय सुविधाका लागि डबल डेकर बेड, व्यक्तिगत लकर, विद्युत् तथा पानी तताउने सोलार प्रणाली, कार्पेट, पर्दा र भान्सामा प्रयोग हुने भाँडाकुँडालगायत सामग्री हस्तान्तरण गरेका छन्।
बाढीका कारण अभिभावक गुमाएका ५० जना विद्यार्थीलाई लक्षित गरी विद्यालयमै आवासीय सुविधा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको हो। हाल उक्त विद्यालयमा ३० जना विद्यार्थी होस्टलमा बसेर अध्ययन गर्दै आएका छन्।
सहयोगअन्तर्गत विद्यार्थीका लागि एक वर्षसम्म पुग्ने शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ। त्यस्तै, विद्यार्थीका लागि २०० सेट र शिक्षकका लागि २० सेट न्यानो ट्र्याकसुट, टी–सर्ट तथा झोलासमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ।
उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकु सुवेदीको रोहवरमा खत्रीले विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेलाई सामग्री हस्तान्तरण गरेका हुन्।
‘बालबालिकाको पढाइ र भविष्य प्रभावित हुन दिनुहुँदैन’ -खत्री
बाढीले अभिभावक गुमाएका बालबालिकाको पुनर्स्थापना केवल तत्कालीन राहत दिएर सम्भव नहुने भएकाले उनीहरूको शिक्षा, आवास र दैनिक आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरिएको सम्भव नेपालका संस्थापक खत्रीले बताए।
‘विपद्ले सबैभन्दा बढी असर बालबालिकाको जीवनमा पारेको हुन्छ। उनीहरूले अभिभावक गुमाएका छन्, कतिपयले घर र आफ्नो सुरक्षित वातावरण पनि गुमाएका छन्। यस्तो अवस्थामा उनीहरूको पढाइ रोकिनु हुँदैन र भविष्यप्रतिको आशा मर्न दिनु हुँदैन भन्ने हाम्रो सोच हो,’ खत्रीले भने, ‘विद्यालयमै बस्ने, खाने र पढ्ने राम्रो वातावरण बनाउन सकियो भने उनीहरूलाई ठूलो राहत मिल्छ। त्यसैले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई ध्यान दिएर यो सहयोग गरेका हौँ।’
उनका अनुसार बालबालिकालाई आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराएर उनीहरूको अध्ययनलाई सहज बनाउनु सहयोगको मुख्य उद्देश्य हो।
‘आवासीय सुविधाले बालबालिकाको पढाइ निरन्तर राख्न सहज हुनेछ’ -वडाध्यक्ष सुवेदी
उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकु सुवेदीले बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन विद्यालयमै आवासीय सुविधा आवश्यक रहेको बताए।
‘बाढीले धेरै परिवारलाई ठूलो पीडा दिएको छ। अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी हामी सबैको हो। यस्तो अवस्थामा सम्भव नेपालले विद्यालयमै आएर आवश्यक सामग्री सहयोग गर्नु निकै प्रशंसनीय काम हो,’ भावुक बन्दै सुवेदीले भने, ‘यसले बालबालिकालाई सुरक्षित रूपमा विद्यालयमा बसेर पढ्ने वातावरण बनाउन सहयोग पुग्नेछ।’
‘जिम्मेवारी र चुनौती दुवै कम भएको छ’ -प्रधानाध्यापक घिमिरे
विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले बाढी प्रभावित बालबालिकालाई विद्यालयमै राखेर पढाउन आवासीय व्यवस्थापन आवश्यक भए पनि स्रोतसाधनको अभाव चुनौतीका रूपमा रहेको बताए।
‘अभिभावक गुमाएका बालबालिकालाई विद्यालयमै राखेर पढाउनु हाम्रो प्राथमिकता हो। तर आवासीय सुविधा सञ्चालन गर्न बेड, लकर, भान्साका सामग्री, न्यानो कपडा र शैक्षिक सामग्रीलगायत धेरै कुराको आवश्यकता थियो। सम्भव नेपालले ती आवश्यकतालाई बुझेर ठूलो सहयोग गरेको छ,’ घिमिरेले भने, ‘विद्यालय परिवारका लागि यो सहयोग निकै महत्वपूर्ण छ।’
उनका अनुसार हाल विद्यालयको होस्टलमा ३० जना विद्यार्थी बस्दै आएका छन्। थप प्रभावित बालबालिकालाई समेत आवासीय सुविधाको पहुँचमा ल्याउने लक्ष्य रहेको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा स्थानीयले सहयोगप्रति खुसी व्यक्त गर्दै बालबालिकाको भविष्यप्रति भरोसा बढेको प्रतिक्रिया दिएका थिए।
बाढी आएलगत्तै पनि प्रेम खत्रीले प्रभावित क्षेत्रमा राहत सामग्री पठाएका थिए। तत्कालीन राहत वितरणपछि अहिले बालबालिकाको दीर्घकालीन पुनर्स्थापना, आवास र शिक्षालाई प्राथमिकतामा राखेर सहयोग गरिएको सम्भव नेपालले जनाएको छ।
सम्भव नेपालले विगत डेढ दशकदेखि गोरखालाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रममार्फत समुदायको आवश्यकता सम्बोधन गर्दै आएको छ।
गोरखामा केन्द्रित रहेर काम गर्दै आएको संस्थाले यसपटक रसुवाका बाढी प्रभावित बालबालिकाको पुनर्स्थापनामा समेत सहयोग विस्तार गरेको हो।