• शुक्रबार, साउन ८ २०८३

जीवन काँडा कि फूल: झमक कुमारी घिमिरेको जीवनीबाट के सिक्ने?


सोमबार, मंसिर २३ २०८२
10.5K
Shares

संजिता थापा मगर

झमक कुमारी घिमिरे नेपाली साहित्यको एक अद्वितीय प्रतिभा हुन्। उनी मस्तिष्क पक्षघात (Cerebral Palsy) सँग जन्मिएकी थिइन् र आफ्नो देब्रे खुट्टाबाट लेख्ने गर्दछन् । बाल्यकालदेखि नै हिँडडुल गर्न नसक्ने, बोल्न नसक्ने, आँखा धमिलो देख्ने र केवल सुन्न मात्र सक्षम झमकको जीवन संघर्षले उनको लेखनीलाई जीवन्त बनाएको छ ।

उनले सन् २०१० मा प्रकाशित आफ्नो आत्मकथात्मक पुस्तक जीवन काडा कि फूल मार्फत जीवनका आन्तरिक र बाह्य चुनौतीहरू, सामाजिक भेदभाव र पारिवारिक कठिनाइका बावजुद पनि आशा र सद्गुण साथ अघि बढ्ने यात्राको कथा सुनाएकी छन् ।

यो पुस्तक प्रकाशनको दुई वर्षभित्रै सात पटक मुद्रण भई नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री भएको थियो। साथै, यस पुस्तकले मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार पनि जितेको छ । पुस्तकमा समेटिएका ४७ शीर्षकका आत्मपरक निबन्धहरूले झमकको बाल्यकालदेखि प्रारम्भिक पढाइसम्मको कठिन यात्रा मार्मिक र प्रेरणादायक शैलीमा प्रस्तुत गरेकी छिन ।

उनका केही सृजनाहरू, जस्तै आशाको त्यो त्यान्द्रोसम्म, आशाका किरणहरू, अक्षरसँग पलाएको हर्ष र शब्दको उत्सव, बालबालिकाको प्रारम्भिक सिकाइ र अभिभावकीय माया, सहयोग र प्रेरणाको महत्व दर्शाउँछन् ।

बाल्यकालमा झमकले अनुभव गरेका कठिनाइहरूले नेपाली अभिभावकका लागि धेरै महत्वपूर्ण पाठहरू प्रस्तुत गरेकी छिन । पहिलो कुरा, बालबालिकालाई प्रारम्भिक चरणमै पूर्ण समर्थन र माया दिनु आवश्यक छ । झमकको जीवनले देखाउँछ कि जहाँ जीवन छ त्यहाँ बाँच्ने कला पनि हुन्छ। उनका अनुभवहरूले सिकाउँछन् कि बालबालिकालाई डर वा दमन बिना सिक्न, खेल्न र गल्तीबाट सिक्ने अवसर दिनु अभिभावकको प्रमुख जिम्मेवारी हो।

दोस्रो कुरा, सामाजिक र पारिवारिक समर्थन बालबालिकाको विकासका लागि अनिवार्य छ। झमकका कथनहरू—“सबैभन्दा निश्वार्थ माया गर्छौ आमा तिमीले थोरै मात्र दुख देखाए भने म भन्दा दुई गुणा रुन्छेउ ले देखाउँछ कि माता–पिताको भावनात्मक उपस्थितिले बच्चाको आत्मविश्वास र मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छ। यसले अभिभावकलाई बालबालिकाको भावनात्मक सुरक्षा र सामाजिक व्यवहार निर्माणमा सधैं सक्रिय रहन प्रेरित गर्छ।

तेस्रो कुरा, प्रारम्भिक शिक्षा र सिकाइको पहुँच सुनिश्चित गर्नु आवश्यक छ। झमकले आफ्नो जीवनमा अनेकौ बाधाहरू पार गर्दै पढ्न र लेख्न सिकिन्। यसबाट नेपाली अभिभावकले बुझ्न सक्छन् कि बालबालिकालाई पुस्तक, खेलकुद सामग्री, सुरक्षित वातावरण र स्वास्थ्य–पोषणको सहज पहुँच उपलब्ध गराउनु प्राथमिकता हुनुपर्छ ।

चौथो कुरा, आशा र सकारात्मक दृष्टिकोण बालबालिकामा आत्मबल र जीवनप्रतिको रुचि जगाउँछ। झमकका अनुभव—“निराश बनेर बसेको मान्छेलाई आशा दिएर बाच्न सिकाउनु”—ले देखाउँछ कि अभिभावकले बच्चाको दुःख, असहायता र चुनौतीहरूलाई बुझेर उनीहरूलाई सकारात्मक मार्गदर्शन दिनुपर्छ।

अन्ततः, झमक कुमारी घिमिरेको जीवनले नेपाली अभिभावकलाई सिकाउँछ कि बालबालिकाको प्रारम्भिक विकास मात्र उनीहरूको भौतिक आवश्यकता पूरा गरेर होइन, माया, सुरक्षा, शिक्षा र सामाजिक–भावनात्मक समर्थन मार्फत सम्भव छ । बालबालिकाको जीवनमा सानो प्रेरणा, सानो सहयोग र सानोतिनो माया नै जीवनलाई फूलझैँ खिलाउने शक्ति राख्दछ।

यो पुस्तक र झमकको जीवन संघर्षले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई पूर्ण समर्थन र माया दिन, चुनौतीहरूको सामना गर्न सिकाउन र उनीहरूको भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्दछ। जीवन काडा कि फूल केवल एक लेखकको जीवनकथा होइन, तर प्रत्येक नेपाली अभिभावकका लागि बाल्यकालको शिक्षाका पाठ र जीवनप्रतिको दृष्टिकोणको अद्भुत स्रोत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार