संजिता थापा मगर
झमक कुमारी घिमिरे नेपाली साहित्यको एक अद्वितीय प्रतिभा हुन्। उनी मस्तिष्क पक्षघात (Cerebral Palsy) सँग जन्मिएकी थिइन् र आफ्नो देब्रे खुट्टाबाट लेख्ने गर्दछन् । बाल्यकालदेखि नै हिँडडुल गर्न नसक्ने, बोल्न नसक्ने, आँखा धमिलो देख्ने र केवल सुन्न मात्र सक्षम झमकको जीवन संघर्षले उनको लेखनीलाई जीवन्त बनाएको छ ।
उनले सन् २०१० मा प्रकाशित आफ्नो आत्मकथात्मक पुस्तक जीवन काडा कि फूल मार्फत जीवनका आन्तरिक र बाह्य चुनौतीहरू, सामाजिक भेदभाव र पारिवारिक कठिनाइका बावजुद पनि आशा र सद्गुण साथ अघि बढ्ने यात्राको कथा सुनाएकी छन् ।
यो पुस्तक प्रकाशनको दुई वर्षभित्रै सात पटक मुद्रण भई नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री भएको थियो। साथै, यस पुस्तकले मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार पनि जितेको छ । पुस्तकमा समेटिएका ४७ शीर्षकका आत्मपरक निबन्धहरूले झमकको बाल्यकालदेखि प्रारम्भिक पढाइसम्मको कठिन यात्रा मार्मिक र प्रेरणादायक शैलीमा प्रस्तुत गरेकी छिन ।
उनका केही सृजनाहरू, जस्तै आशाको त्यो त्यान्द्रोसम्म, आशाका किरणहरू, अक्षरसँग पलाएको हर्ष र शब्दको उत्सव, बालबालिकाको प्रारम्भिक सिकाइ र अभिभावकीय माया, सहयोग र प्रेरणाको महत्व दर्शाउँछन् ।
बाल्यकालमा झमकले अनुभव गरेका कठिनाइहरूले नेपाली अभिभावकका लागि धेरै महत्वपूर्ण पाठहरू प्रस्तुत गरेकी छिन । पहिलो कुरा, बालबालिकालाई प्रारम्भिक चरणमै पूर्ण समर्थन र माया दिनु आवश्यक छ । झमकको जीवनले देखाउँछ कि जहाँ जीवन छ त्यहाँ बाँच्ने कला पनि हुन्छ। उनका अनुभवहरूले सिकाउँछन् कि बालबालिकालाई डर वा दमन बिना सिक्न, खेल्न र गल्तीबाट सिक्ने अवसर दिनु अभिभावकको प्रमुख जिम्मेवारी हो।
दोस्रो कुरा, सामाजिक र पारिवारिक समर्थन बालबालिकाको विकासका लागि अनिवार्य छ। झमकका कथनहरू—“सबैभन्दा निश्वार्थ माया गर्छौ आमा तिमीले थोरै मात्र दुख देखाए भने म भन्दा दुई गुणा रुन्छेउ ले देखाउँछ कि माता–पिताको भावनात्मक उपस्थितिले बच्चाको आत्मविश्वास र मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छ। यसले अभिभावकलाई बालबालिकाको भावनात्मक सुरक्षा र सामाजिक व्यवहार निर्माणमा सधैं सक्रिय रहन प्रेरित गर्छ।
तेस्रो कुरा, प्रारम्भिक शिक्षा र सिकाइको पहुँच सुनिश्चित गर्नु आवश्यक छ। झमकले आफ्नो जीवनमा अनेकौ बाधाहरू पार गर्दै पढ्न र लेख्न सिकिन्। यसबाट नेपाली अभिभावकले बुझ्न सक्छन् कि बालबालिकालाई पुस्तक, खेलकुद सामग्री, सुरक्षित वातावरण र स्वास्थ्य–पोषणको सहज पहुँच उपलब्ध गराउनु प्राथमिकता हुनुपर्छ ।
चौथो कुरा, आशा र सकारात्मक दृष्टिकोण बालबालिकामा आत्मबल र जीवनप्रतिको रुचि जगाउँछ। झमकका अनुभव—“निराश बनेर बसेको मान्छेलाई आशा दिएर बाच्न सिकाउनु”—ले देखाउँछ कि अभिभावकले बच्चाको दुःख, असहायता र चुनौतीहरूलाई बुझेर उनीहरूलाई सकारात्मक मार्गदर्शन दिनुपर्छ।
अन्ततः, झमक कुमारी घिमिरेको जीवनले नेपाली अभिभावकलाई सिकाउँछ कि बालबालिकाको प्रारम्भिक विकास मात्र उनीहरूको भौतिक आवश्यकता पूरा गरेर होइन, माया, सुरक्षा, शिक्षा र सामाजिक–भावनात्मक समर्थन मार्फत सम्भव छ । बालबालिकाको जीवनमा सानो प्रेरणा, सानो सहयोग र सानोतिनो माया नै जीवनलाई फूलझैँ खिलाउने शक्ति राख्दछ।
यो पुस्तक र झमकको जीवन संघर्षले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई पूर्ण समर्थन र माया दिन, चुनौतीहरूको सामना गर्न सिकाउन र उनीहरूको भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्दछ। जीवन काडा कि फूल केवल एक लेखकको जीवनकथा होइन, तर प्रत्येक नेपाली अभिभावकका लागि बाल्यकालको शिक्षाका पाठ र जीवनप्रतिको दृष्टिकोणको अद्भुत स्रोत हो।