काठमाडौं। प्रज्ञा सामुदायिक सिकाइ केन्द्रको आयोजनामा काठमाडौंको धुम्बाराहीस्थित लर्ड भेन्यूमा शनिवार वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
दलित तथा सिमान्तकृत समुदायका साना तथा मझौला व्यवसायी, रोजगारमा आबद्ध महिला तथा युवा गरी ३५ जनाको सहभागितामा सम्पन्न कार्यक्रमको उद्देश्य सहभागीहरूमा बचत, लगानी, ऋण व्यवस्थापन र बैंकिङ सेवाबारे आधारभूत ज्ञान प्रदान गर्नु रहेको थियो। साथै वित्तीय योजना बनाउने सीप विकास गर्ने र औपचारिक वित्तीय प्रणालीमा सहभागीहरूको पहुँच बढाउने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा प्रज्ञा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष अर्जुन परियारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने फाइनान्सियल लिट्रेसी फाउण्डेसन नेपालका पूर्व अध्यक्ष तथा सानिमा बैंकका पूर्व कार्यकारी अधिकृत भुवन दाहालले विज्ञ प्रस्तोताको रूपमा उपस्थित सहभागीहरूलाई वित्तीय साक्षरताका विभिन्न पक्षबारे जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य–सचिव सीताराम घले परियार समेत उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा सहभागी भएका व्यक्तिहरूले यस अभिमुखीकरणबाट आयस्रोतको वृद्धि, बचत, लगानी, ऋण व्यवस्थापन र बैंकिङ सेवा तथा वित्तीय शिक्षाबारे ज्ञान, सूचना र जानकारी प्राप्त भएको र यसबाट हौसला मिलेको बताएका छन्।