गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । बाढीले घर, पुल, सडक तथा जलविद्युत आयोजनामा बगाउनुका साथै पाँच जना मानिस सम्पर्कविहिन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टर मार्फत ९५ जनालाइ सकुशल उद्धार गरिएको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेपछि बुढीगण्डकी नदीमा बाढी आएको हो । बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पु¥याएको छ ।
ठूलो मानविय क्षति नभएपनि हालसम्म चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा सम्र्पकविहिन रहेको प्रहरी प्रशासनले जनाएका छन् । चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभीरमा रहेको क्यान्टिलिभर पुल पनि बाढीले बगाएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । पुल बगाएपछि छेकम्पार र चुम्चेत गाउँबीचको सम्पर्कविच्छेद भएको छ ।
चुमनुब्री–६ र ७ का बासिन्दाका लागि आवतजावत गर्ने प्रमुख पैदलमार्गका रूपमा रहेको पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताइन् । बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ ।
त्यस्तै, धार्चे–५ माछाखोला र वडा नं. २ केरौँजा जोड्ने झोलुंगे पुल तथा वडा नं. ३ र २ को केरौँजाबेंसी जोड्ने झोलुङ्गे पुल पनि बगाएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । पुल बगाएपछि धार्चे–२ का केरौँजा र लामाबेंसीका करिब पाँच सय घरधुरीको आवतजावत ठप्प भएको वडाध्यक्ष सरोज गुरुङले बताए । पुल बग्दा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
‘हाम्रो त पूरै आवतजावत नै ठप्प भयो । सामान ढुवानी गर्ने, अत्यावश्यक सामग्री ल्याउन आपत्त पर्ने भयो,’ शिव आधारभूत विद्यालयका शिक्षक दीपक गुरुङले भने । बाढीले चुमनुब्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावरहाउस र श्रमिक बस्ने क्याम्प बगाएको छ । त्यस्तै, धार्चे–१ यारुबगर र दोभानमा रहेका दुईवटा जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । बाढीले आरुघाट गाउँपालिकामा पनि ठूलो क्षति पु¥याएको छ । आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बगाएको छ ।
त्यस्तै, आरुघाट–९ मा गोरखाबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बगाएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । आर्खेत–सोती सडकको छेपारे–घुमाउने र बेवरपानी–सोती खण्डमा समेत क्षति पुगेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । उनका अनुसार आरुघाट–५ शान्तीबजारका ४८ वटा घर बाढीले बगाएको छ भने आरुघाट–३ मा एउटा घर डुबानमा परेको छ ।
बाढीले १२ वटा बाख्रा, ४३ वटा बंगुर, पाँचवटा भैँसी र ३६९ वटा कुखुरामा समेत क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । आर्खेतस्थित झोलुङ्गे पुलको सपोर्ट लट्ठासमेत चुँडिएको छ । ‘बाढी आएको जानकारी हुनासाथ नागरिकलाई सचेत गराइएको थियो,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘जसले गर्दा सबै नागरिक सुरक्षित स्थानमा जान सफल हुनुभयो ।’ बाढीबाट प्रभावित तथा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । शान्ती बजार क्षेत्रका प्रभावितलाई नजिकका बस्तीमा स्थानान्तरण गरी खाद्यान्न, लत्ताकपडा र अन्य राहत सामग्रीको व्यवस्था गरिएको छ।
‘हामीले बिहानैदेखि उहाँहरूलाई चाउचाउ, फ्रुटीलगायतका खाजाको व्यवस्था गरेका थियौँ । विभिन्न ठाउँमा खानाको मेस सञ्चालन गरेर खानाको प्रबन्ध गरिएको छ,’ अध्यक्ष गुरुङले भने, ‘बस्नका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ ।’ दीर्घरोगी तथा नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधिको व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै, आरुघाट–३ सोतीमा जोखिममा रहेका २० घरधुरीलाई केवरपानीस्थित वडा कार्यालय र विद्यालयमा अस्थायी आवासको व्यवस्था गरिएको छ । नदीको तटीय क्षेत्रमा लगाइएको धान, फलफूल तथा अन्य बालीमा समेत ठूलो क्षति पुगेको छ । बाढीले पशुचौपायासमेत बगाएको स्थानीय तहहरूले जनाएका छन् । यद्यपि, क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन । ९५ जनाको हेलिकोप्टरबाट उद्धार गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढी प्रभावित क्षेत्रबाट जोखिममा रहेका ९५ जनालाई हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये २३ जनालाई आरुघाट ल्याएर निःशुल्क बस सेवामार्फत गन्तव्यतर्फ पठाइएको उनले जानकारी दिए । नेपाल सरकार, गृह मन्त्रालयको व्यवस्थापनमा निःशुल्क बस सेवा सञ्चालन गरिएको उनले बताए । विस्थापित नागरिकलाई खान र बस्न समस्या नहोस् भनेर सम्बन्धित स्थानीय तहले आवश्यक व्यवस्था मिलाएको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री कुलमान घिसिङ, सडक विभागका महानिर्देशक डा. विजय जैसी, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फणिन्द्र देवकोटा, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरलगायतले स्थलगत अनुगमन गरेका छन् ।
जिल्लामा क्रियाशील राजनीतिक दलका नेता तथा नेपाली सेना र प्रहरीका उच्च अधिकारीले पनि प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री वालेन्द्र शाहले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका हुन् ।
विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसिरहेको र बाढीको अवस्था अनुगमन तथा विश्लेषण गर्नुका साथै सूचना सम्प्रेषण, उद्धार र राहतका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । गोरखा र धादिङ जोड्ने पुल दसैँअघि सञ्चालनमा ल्याउन निर्देशन गृहमन्त्री सुधन गुरुङले बाढीबाट क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की मोटरेबल पुलमा तत्काल बेलिब्रिज जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्राप्त जानकारी अनुसार सोमबारसम्म बेलिब्रिज जडानका लागि आवश्यक सम्पूर्ण सामग्री आरुघाट पु¥याइनेछ भने मंगलबारदेखि जडान कार्य सुरु गरिनेछ । बेलिब्रिज जडान भएपछि प्रभावित क्षेत्रको आवागमन तथा यातायात सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनर्निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिएका छन् ।