• बिहिबार, असोज २९ २०८३

मौलिक परम्परा जोगाउन बुङ्कोट कोटकालीमा फूलपाती उत्सव


बिहिबार, असोज २९ २०८३
160
Shares

गोरखा । शहीद लखन गाउँपालिका–८ बुङ्कोटस्थित कोटकाली मन्दिरमा असोज ३१ गते फूलपाती उत्सव आयोजना हुने भएको छ ।

श्री बुङ्कोट कोटकाली भूमे मन्दिर सञ्चालन समितिको आयोजनामा ‘बुङ्कोट कोटकाली फूलपाती उत्सव तथा दशैँ शुभकामना कार्यक्रम–२०८३’ हुन लागेको हो । पुस्तौँदेखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र अभिलेखीकरण गर्ने उद्देश्यले फूलपाती उत्सव आयोजना गर्न लागिएको दशैँ फूलपाती कार्यक्रम तयारी समूहका युवा समाजसेवी संकल्प श्रेष्ठले जानकारी दिए ।

कोटकाली मन्दिर बुङ्कोटको धार्मिक आस्था, ऐतिहासिक पहिचान र सामुदायिक सम्बन्धसँग जोडिएको सम्पदा हो । अग्रज पुस्ताले जोगाउँदै आएका पूजा विधि, रीतिरिवाज र सांस्कृतिक अभ्यासलाई लिखित रूपमा सुरक्षित गरी नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।

‘हाम्रा अग्रजहरूले पुस्तौँदेखि निरन्तरता दिँदै आउनुभएका पूजा विधि र सांस्कृतिक अभ्यास धेरैजसो मौखिक रूपमा हस्तान्तरण हुँदै आएका छन्,’ श्रेष्ठले भने, ‘अब ती ज्ञान र अनुभवलाई लिखित रूपमा सुरक्षित राखेर नयाँ पुस्तासम्म पु¥याउने हाम्रो उद्देश्य हो ।’

कोटकाली मन्दिरमा घटस्थापनाका दिन जमरा राखेर नवरात्र पूजा सुरु हुन्छ । फूलपातीका दिन मन्दिरमा फूलपाती भित्र्याउने क्रममा स्थानीय बोलीमा ‘बैड्याउने’ र ‘पर्सिने’ भनिने विधिसमेत पूरा गरिन्छ । यी विधिको क्रम र विभिन्न व्यक्ति तथा समुदायले निर्वाह गर्ने जिम्मेवारी अग्रजको निर्देशन र प्रत्यक्ष सहभागिताबाट पुस्तान्तरण हुँदै आएको छ ।

परम्पराअनुसार कोटकाली मन्दिरबाट करिब तीन किलोमिटर टाढा छापथोकस्थित फूलपाती चौताराबाट फूलपातीको डोली ल्याउने गरिन्छ । छापथोकबाट फूलपाती लिएर आउने टोली र कोटकालीबाट लिन जाने टोली हटिया र छापथोकबीचको देउरालीमा भेट हुन्छन् । त्यहाँ फूलपाती पर्सिने विधि पूरा गरेपछि फूलपाती मन्दिरमा भित्र्याइन्छ । यस क्रममा उपासेले फूलपातीको डोली बोक्ने, निशानको जिम्मेवारी सम्हाल्ने व्यक्तिले केराको बोट र कटुवालले उखु ल्याउने परम्परा छ । पुजारी, पुरोहित, थरी, मालश्री गाउने समूह तथा परम्परागत बाजा बजाउने समुदायको सहभागिताले अनुष्ठानलाई सामूहिक स्वरूप दिने गरेको श्रेष्ठले बताए ।

स्थानीय मगर समुदायका पुजारी तथा उपासे, ब्राह्मण पुरोहित, नेवार समुदायको मालश्री र अन्य परम्परागत भूमिकामा सहभागी समुदायबीचको सहकार्य कोटकालीको सांस्कृतिक विशेषता हो । पुस्तौँदेखि धार्मिक तथा सांस्कृतिक जिम्मेवारी निर्वाह गर्दै आएका परिवार र समुदायको योगदानलाई चिनाउने तथा सम्मान गर्ने अवसरका रूपमा पनि उत्सवलाई अघि बढाइएको उनले बताए ।

उत्सवका अवसरमा स्थानीय धर्म, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक झाँकी, भजन–कीर्तन, झ्याउरे, पञ्चेबाजा तथा नृत्य प्रस्तुत गरिनेछन् । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक प्रोत्साहन छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी र खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडीलाई समेत सम्मान गरिनेछ ।

दशैँको शुभकामना आदानप्रदानमार्फत सामुदायिक सद्भाव र एकता सुदृढ गर्ने तथा गाउँमा रहेका र विभिन्न स्थानमा बसोबास गर्दै आएका बुङ्कोटवासीलाई आपसमा जोड्ने लक्ष्यसमेत राखिएको छ ।

उत्सवलाई कोटकालीको इतिहास र परम्पराको अभिलेखीकरण गर्ने अवसरका रूपमा उपयोग गरिने श्रेष्ठले बताए । त्यसका लागि अग्रजका अनुभव, स्थानीय स्मृति, पुराना तस्बिर, लिखत तथा उपलब्ध ऐतिहासिक स्रोत सङ्कलन गर्ने योजना छ । जनश्रुति र प्रमाणबाट पुष्टि भएका विवरण छुट्याएर अभिलेख राख्दा भविष्यमा ऐतिहासिक अध्ययन तथा सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार