• सोमबार, असोज २६ २०८३

भरतपुरको नुरी जामे मस्जिदमा नयाँ कमिटी चयन, अध्यक्षमा अब्दुल शेख मियाँ


सोमबार, असोज २६ २०८३
400
Shares

भरतपुर । नुरी जामे मस्जिद व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ पोखरीचोकस्थित निलगिरी टोलमा रहेको मस्जिद व्यवस्थापन समितिको अध्यक्षमा अब्दुल शेख मियाँ सर्वसम्मत चयन भएका छन् ।

मस्जिदका निवर्तमान अध्यक्ष फुलसरिफ मियाँको अध्यक्षतामा सम्पन्न भेलाले शेख मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अब्दुल रहिम मियाँ, सचिवमा मोहसिन अलि, कोषाध्यक्षमा अलि हुसेन हवारी र सहसचिवमा अलि हुसेन चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा अब्दुल हनिफ शेख मियाँ, महबुब आलम, सर्फुद्दिन मियाँ, भलादिन मियाँ, राजु अहमद मियाँ, सहादत हुसेन अलि, लालमोहम्मद धोवी, महमद मियाँ, अफजल अन्सारी र वकिल मियाँ सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलाले मस्जिदको संस्थागत विकास, व्यवस्थापन तथा आवश्यक विषयमा मार्गदर्शन गर्न सल्लाहकार समितिसमेत चयन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा फुलसरिफ मियाँ, कासिम मियाँ र अवलेस शेख चयन भएका छन् भने कानुनी सल्लाहकारमा सफि मियाँ चयन भएका छन् ।

करिब डेढ दशकअघि स्थापना भएको नुरी जामे मस्जिद, चितवन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायको धार्मिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा रहेको छ । मस्जिदमा दैनिक नमाजलगायत धार्मिक गतिविधि सञ्चालन हुनुका साथै बालबालिकालाई मदरसा शिक्षासमेत प्रदान गरिँदै आएको बताइएको छ ।

मस्जिदले धार्मिक आस्थाको संरक्षण, नयाँ पुस्तामा धार्मिक शिक्षाको हस्तान्तरण तथा समुदायकाबीच आपसी सम्बन्ध र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको ब्यवस्थापन समितिले जनाएको छ ।

स्थानीय मुस्लिम समुदायको सहभागिता र सहयोगमा सञ्चालन हुँदै आएको मस्जिदको व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु आफ्नो प्रमुख योजना र कर्तब्य रहेको नवनिर्वाचित अध्यक्ष अब्दुल शेख मियाँले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार