गोरखा । विद्यालयको इतिहास, शैक्षिक योगदान र पूर्वविद्यार्थीसँगको सम्बन्धलाई उत्सवका रूपमा जोड्दै सिरानचोक गाउँपालिका–६, नयाँ साँघुस्थित संसारी महेन्द्र माध्यमिक विद्यालयले आगामी माघ ७ देखि १० गतेसम्म हीरक महोत्सव आयोजना गर्ने भएको छ ।
‘संसारी मावि हीरक महोत्सव–२०८३, हाम्रो गौरव, हाम्रो उत्सव, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा विद्यालयसँग जोडिएका विभिन्न पुस्तालाई एकै ठाउँमा ल्याउनेदेखि शैक्षिक तथा सामाजिक योगदानको सम्मान गर्नेसम्मका कार्यक्रम समेटिनेछन् ।
महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकबीच पुनर्मिलन कार्यक्रम आयोजना गरिनेछ । विद्यालयको विकासमा योगदान पुर्याउने दाता तथा प्रतिभाहरूलाई सम्मान गर्नुका साथै हीरक ग्रन्थ लोकार्पण र हीरक स्तम्भ अनावरण गरिने प्रधानाध्यापक रामकाजी श्रेष्ठले जानकारी दिए ।
चार दिनसम्म सञ्चालन हुने महोत्सवमा शैक्षिक, सामाजिक तथा खेलकुद गतिविधिसँगै राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति र पूर्वविद्यार्थीका प्रतिभा प्रस्तुत गरिनेछन् । विद्यालयको भावी दिशा र विकासका प्रतिबद्धता समेटिएको हीरक संकल्प घोषणालाई समेत महोत्सवको महत्त्वपूर्ण कार्यक्रमका रूपमा राखिएको छ ।
महोत्सवलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन ३५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै, निर्णय तथा कार्यसम्पादनलाई तीव्रता दिन १२ सदस्यीय सचिवालय र विभिन्न जिम्मेवारी सम्हाल्न ११ वटा उपसमिति गठन गरी तयारी अघि बढाइएको विद्यालयले जनाएको छ ।
विद्यालयको विगतलाई अभिलेखीकरण गर्दै उपलब्धि र योगदानलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले हीरक ग्रन्थसमेत प्रकाशन गरिनेछ । महोत्सवले विद्यालयको शैक्षिक पहिचानलाई थप स्थापित गर्नुका साथै पूर्वविद्यार्थी, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।