काठमाडौँ । कर्मचारी पद पूर्तिसम्बन्धी विज्ञापन भएलगत्तै आन्दोलनमा उत्रिएका सिभिल अस्पतालका चिकित्सक र कर्मचारीले सोमबार प्रशासनमा तालाबन्दी गर्ने भएका छन् ।
फागुन ३० गते सूचना प्रकाशन गरेर अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित बनेका हुन् । यसअघि हरेकदिन १ बजेदेखि १५ मिनेट धर्ना गरिरहेको उनीहरुले भोलि सोमबार अस्प्ताल प्रशासनमा तालाबन्दी गर्ने तयारी गरेका छन् ।
अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले संयुक्त रुपमा भोलि तालाबन्दीको कार्यक्रम राखेको एक कर्मचारीले सिभिलखबरलाई बताए ।
अस्पतालको सेवा प्रभावित नगर्ने गरी प्रशासन शाखामा मात्रै तालाबन्दीको कार्यक्रम रहेको डाक्टर्स एसोसियसनका महासचिब डा दिपेश केसीले जानकारी दिए ।

त्यस्तै मंगलबारबाट २४ घण्टे रिले अनसन बस्ने गरी तयारी भएको उनले जानकारी दिए । गत ३० गते सार्वजानिक भएको पदपूर्ति सम्बन्धी विज्ञापनमा असन्तुष्टि जनाउदै उनीहरुले नियमित विरोधका कार्यक्रम गर्दै आएका छन् ।
उनीहरुले पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्न, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर्न माग गरिहेका छन् ।
त्यस्तै विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्नसमेत व्यवस्थापन पक्षसँग माग गरिएको डा केसीले बताए । आन्दोलनका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत जानकारी गराएको उनले बताए ।
यो पनि पढ्नुहोस