काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिइने सहायता रकम बढाइएको छ । वैदेशिक रोजगार बोर्ड मार्फत सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको परिवारलाई दिइने सहायता रकम बढाइएको हो ।
यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था थियो । अब सो ७ लाख सहायता रकमलाई बढाएर १० लाख पु¥याइएको छ ।
यस्तो सहायता रकम वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको बताए। आज मन्त्रालयमै पत्रकारसंगको अन्तरकृया कार्यक्रममा उनले सो जानकारी गराएका हुन् ।
यस्तो सहायता २०६५ देखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो। सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्याइएको थियो। सो सहायता रकम चालु आव.व. २०८०÷८१ बाट लागू हुनेगरी बढाएर १० लाख रुपैया पु¥याएको उनले बताए ।
त्यस्तै मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाइएको छ। बोर्डले मृतकका छोराछोरीलाई शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति पनि श्रमिकले वैदेशिक रोजगारीमा जाने क्रममा जम्मा गरेको कोषकै रकमबाट प्रदान गरिँदै आएको छ।
बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वार्षिक ८ हजार दिँदै आएको थियो। अब भने १२ हजार पाँच सय रूपैयाँ दिन लागिएको हो। त्यस्तै, ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ प्रदान गरिँदै आएकोमा १५ हजार पाँच सय रूपैयाँ दिने निर्णय भएको हो।
यो पनि पढ्नुहोस :
सिभिलखबरको अन्य स्टोरी