काठमाडौँ । वैदेशिक रोजगारी बाध्यताको उपज मानिन्छ । देशमा प्रयाप्त अवसरको कमिले वैदेशिक रोजगारी धेरै युवाहरुको रोजाईमा पर्ने गरेको छ । वैदेशिक रोजगारीबाट धेरैका घर चलेका र सजिएका छन् । तर धेरैका घर उजाडिएको यथार्थपनि हामी सामु लुकेको छैन ।
रोजगारी र अवसर खोज्दै बिभिन्न देश पुगेका नेपालीहरुले कामकै सिलसिलामा ज्यान गुमाउनु पर्दा उनिहरुका परिवार र आफन्तको खुसी उजाड बन्ने गरेको छ ।
पछिल्लो १० महिनामा एक हजारको ज्यान गयो
पछिल्लो तथ्यांकलाई हेर्दा हरेक महिना दश जनाको हाराहारीमा नेपाली श्रमिक बाकसमा फर्किने गरेका छन् ।
चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले बताउछ ।
बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको हो ।
सबैभन्दा बढी ज्यान जाने देश साउदी
खाडीको देश साउदीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । साउदीमा एक महिला र २८७ पुरुष गरी २८८ जनाले यो अवधिमा ज्यान गुमाएका छन् ।
साउदीपछि मलेसियामा २२८ जना पुरुष र तीन जना महिला गरी २३१ जनाको १० महिनाको अवधिमा ज्यान गएको छ ।
मलेसियापछि खाडीको देश कतारमा एक जना महिला र १८१ जना पुरुष गरी १८२ जनाको रोजगारीकै क्रममा मृत्यु भएको छ ।
यस्तै यूएईमा आठ जना महिला र १४० जना पुरुष गरी १४८ जनाको, कुवेतमा नौ जना महिला र ५० जना पुरुष गरी ५९ जनाको र खाडीकै अर्को देश बहराइनमा एक महिला र १७ जना पुरुष गरी १८ जनाको ज्यान गएको छ ।
यस्तै ब्रुनाईमा २ जनाको, क्रोएसियामा ४ जनाको, साइप्रसमा ५ जनाको, इजरायलमा २ जनाको, जापानमा ८ जनाको, जोर्डनमा २ जनाको, मकाउमा १ जनाको, मालदिभ्समा ३ जनाको, माल्टामा दुई जनाको, ओमानमा ७ जनाको, पोर्चुगल र पोल्याण्डमा एक एक जनाको, दक्षिण कोरियामा १७ जनाको ज्यान गएको छ ।
मृतकका परिवारलाई ४६ करोड आर्थिक सहायता
चालु आर्थिक वर्षको १० महिनामा विदेशमा कार्यरत रहेकै देशमा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि ४६ करोड रुपैयाँ रकम आर्थिक सहायता दिइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ ।