• शनिबार, साउन ९ २०८३

विदेशिएका मध्ये दैनिक २ कामदारले गुमाउँछन् ज्यान, कम छैनन् अङ्गभङ्ग हुने


बिहिबार, माघ १९ २०७९
1.3K
Shares

काठमाण्डाै । वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु र अङ्गभङगको दर दिनदिनै बढ्दो क्रममा छ । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क हेर्ने हो भने हरेक दिन औसतमा दुई नेपाली कामदारको वैदेशिक रोजगारका क्रममा मृत्यु भइरहेको देखाउँछ ।

देशको अर्थतन्त्रमा २० प्रतिशतभन्दा बढी हिस्सा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पठाउने ‘रोमिट्यान्स’ले योगदान दिने भए पनि सरकारले ति कामदारको सुरक्षाको विषयमा ठोस कदम नचाल्दा र संवेदनशिल नबन्दा विरानो भूमिमा नेपालीले अकालमै ज्यान फाल्नुपरिरहेको तितो यथार्थ छ ।

वैदेशिक रोजगारका लागि श्रम स्विकृति लिएर विभिन्न देशमा पुगेका नेपाली कामदारहरुको मृत्युदर दिनदिनै बढ्दो क्रममा छ । देशको राजनीतिक अस्थिरता, घट्दो अर्थतन्त्र र वेरोजगारीका कारण दैनिक हजारौँ युवा विदेश पलायन हुने क्रम बढ्दा मृत्युदर र अङ्गभङ्ग हुनेको संख्या पनि बढ्दो देखिन्छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क हेर्दा पछिल्लो साढे ६ महिनामा विभिन्न देशमा गरी झण्डै ४०० जना नेपाली कामदारको मृत्यु भएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि माघ १५ गतेसम्म ३९५ जनाको मृत्यु भएको बोर्डको तथ्याङकमा उल्लेख छ ।
यो तथ्याङ्क श्रम स्विकृती लिएर गएकाको मात्रै हो । जसमा अधिकांश पुरुष कामदार रहेका छन् । साउनदेखि माघ १५ गतेसम्म २२ जना महिला कामदारको मृत्यु हुँदा ३७३ जना पुरुषले ज्यान गुमाएका छन् ।

जसमा सडक दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ठूलो छ । कार्यस्थलमा आउँदा–जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको असावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।

यता कार्यस्थलमा हुने दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि सानो छैन । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदि कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् । त्यस्तै हृदयघात, प्राकृतिक मृत्यु, आत्महत्या, विपद्लगायतका कारणबाट पनि नेपाली कामदारको ज्यान गइरहेको छ ।

कम छैनन् अङ्गभङ्ग र घाइते हुने

त्यस्तै वैदेशिक रोजगारीमा रहदा अङ्गङ्ग हुनेको सङ्ख्यासमेत कम छैन । साउनयता साढे ६ महिनाको तथ्याङ्क अनुसार १०७ जना अङ्गभङ्ग भएका छन् ।

यसमा अधिकांश पुरुष नै रहेको वैदेशिक रोेजगार बोर्डका प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक एवं सूचना अधिकारी मैया कँडेलले सिभिलखबरलाई बताइन् ।

जसमा १०३ जना पुरुष र ४ जना महिला घाइते भएका छन् । यसमा सडक दुर्घटना र कार्यस्थलमा हुने दुर्घटना मुख्य कारण रहेको बोर्डको तथ्याङ्कले बताउछ ।

प्रदेश १ का कामदार बढी पिडित

वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी प्रदेश १ का कामदार बढी पिडित बनेका पाइएको छ । गत साउनयता ३९५ जना कामदारको मृत्यु हुँदा सबैभन्दा बढी १ नम्बर प्रदेशका कामदार रहेका देखिएको छ ।

सो प्रदेशका मात्रै १०१ जनाले ज्यान गुमाउनु परेको छ भने २५ जना अङ्गभङ्ग भएका छन् । दोस्रोमा लुम्बिनी प्रदेशका कामदार बढी जोखिमका रहेको तथ्याङ्कले देखाउँछ । साउनदेखि माघ १५ सम्म लुम्बिनीका ८० जना कामदारको मृत्यु हँुदा २५ जना घाइते अवस्थामा रहेको बताइएको छ ।

यसैगरी साढे ६ महिनामा मधेश प्रदेशका ६६ जनाको मृत्य, १६ जना घाइते, गण्डकीका ६० जनाको मृत्यु, १५ जना अङ्गभङ्ग, बाग्मतीका ५० जनाको मृत्यु र १८ जना घाइते रहेको बोर्डकी सूचना अधिकारी कँडेलले सिभिलखबरसँग बताइन् ।
त्यस्तै साउनयता कर्णाली प्रदेशका २८ जनाको मृत्यु र ५ जना अङ्गभङ्ग भएका छन् भने सुदुरपश्चिमका १० जनाको मृत्यु र ३ जना घाइते भएका पाइएको छ ।

पिडित परिवारलाई ३० करोड रुपैया सहायता

गएको साउनयता बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका र घाइते भएका ५ सयभन्दा बढीलाई सहायता रकम उपलब्ध गराएको छ ।

बोर्डले मृत्यु भएका ३९५ जनाको परिवारलाई र घाइते अवस्थामा रहेकालाई उपचारका लागि भन्दै रु ३० करोड १ लाख ९ हजार रुपैयाँ सहायता स्वरुप उपलब्ध गराएको सूचना अधिकारी कँडेलले बताइन् ।

जसमा श्रम स्विकृति गरेर गएका र ३ वर्ष ननाघ्दै मृत्यु भएकाको हकमा अर्को एक वर्षभित्र मृतकको परिवारले क्षतिपूर्ति दावी गरे ७ लाख रुपैयाँ र श्रम स्विकृतिको समयसिमा अर्थात ३ वर्ष नाघेकाको मृत्युको हकमा भने २५ हजार मात्रै सहायता रकम प्रदान गरिने कार्यविधि रहेको सूचना अधिकारी कँडेलले सिभिलखबरलाई बताइन् ।

मृत्यु भएकाको छोराछोरीलाई १२ कक्षासम्म अध्ययन गर्न सहज होस भन्दै शैक्षिक छात्रवृत्ति समेत बोर्डले दिदै आएको जनाएको छ । त्यस्तै उपचारमा समेत अङ्गभङ्ग भएको प्रकृतिका आधारमा कार्यविधिले तोकेको मुल्याङ्कन अनुसार क्षतिपूर्तिको रकम उपलब्ध गराउँदै आएको उनले बताइन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिने बेला वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गरेको रकमबाट बोर्डले विभिन्न शीर्षकमा श्रमिक तथा उनीहरूका परिवारलाई आर्थिक सहायता गर्ने गरेको कँडेलको भनाई छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हाल ११० मुलुकका लागि श्रम स्विकृति दिदै आएको छ ।

कामदार सीप विना विदेश जाँदा मृत्युदर बढ्यो: प्रवक्ता घिमिरे

वैदेशिक रोजगारमा सिप विना कामदार जाँदा यो दर बढ्दै गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुरा घिमिरे बताउँछन् ।

नेपालीले विदेशी भूमिमा अकालमै ज्यान गुमाइरहदा सरकारले किन कुनै कदम चाल्न सक्दैन भन्ने सिभिलखबरको प्रश्नमा प्रवक्ता घिमिरे भन्छन् ‘हामी सधै कामदारको सुरक्षामा संवेदनशिल छाै, तर पहिला कामदार आफैँ सचेत भइदिनु पर्यो नि, बाहिर जान मात्रै प्रयत्न गर्ने कि सीप, सुरक्षा, त्यहाँको रहनसहन, मौसम, भाषा सबै सिकेर जाने ?’

घिमिरेका अनुसार त्यहाँको मौसम, फरक संस्कृति, भाषाको अज्ञानता, अस्वभाविक अपेक्षा, सीपको अभाव, अस्वस्थकर खानपान, जोखिमयुक्त काम, तनावलगायतका कारण मृत्यु घट्न नसकेको हो । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालयले विभिन्न सचेतनामूलक कार्यक्रमका साथै जिल्ला जिल्लामा सामी परियोजनामार्फत सुरक्षित आप्रवासन सूचना केन्द्रसमेत सञ्चालन गरिरहेको उनी बताउँछन् ।

सरकारले नेपालबाट कामदार पठाउँदा सीप सिकाएर मात्रै पठाउने गरी तयारी थालेको समेत उनले सिभिलखबरलाई जानकारी दिए । त्यसका लागि सीप विकास तालिम केन्द्र प्रतिष्ठान गठनको प्रक्रियामा मन्त्रालय रहेको र हाल सो प्रस्ताव मन्त्रीपरिषदमा पुगिसकेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार