काठमाडौँ । विदेशमा मृत्यु भएका नेपाली श्रमिकको बीमा रकममा समेत ठगी हुने गरेको रहस्य बाहिरिएको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपाली श्रमिकका परिवारले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेपछि यस्तो रहस्य पर्दाफास भएको हो ।
आश्चार्यलाग्दो कुरा त के छ भने ठगी गर्ने गिरोहमा सरकारी कर्मचारीको समेत संलग्नता रहेको पाइएको छ । मृतक श्रमिकका परिवारलाई बीमा रकम मिलाइदिने भन्दै ठगी गर्ने गिरोहमा वैदेशिक रोजगार बोर्डकै कर्मचारीको संलग्ना रहेको खुलेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केहि समययता गरेको अनुसन्धानबाट बोर्डमा कार्यरत नायब सुब्बा पशुपति अधिकारीको समेत संलग्नता रहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बोर्डका नायब सुब्बा अधिकारीसहित ७ जनालाई पक्राउ गरेको हो । नायव सुब्बा अधिकारी पक्राउ परेको बोर्डका सूचना अधिकारी राजन पौडेलले पुष्टि गरे ।
पक्राउ पर्नेमा अधिकारी सहित रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् ।
उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ ।
बोर्डका अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।