• शुक्रबार, साउन ८ २०८३

सिभिल फलोअपः करोडौ ठगेका ‘सि-स्टार’का सञ्चालक लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

उजुरी हेर्दा लाल बहादुर लामा समुहले ५० कराेड रुपैया बढी ठगी गरेकाे अनुमान छ तर अरु पक्राउ परेका छैनन्


सोमबार, माघ २२ २०८०
1.7K
Shares

काठमाडौँ । करिब एक हजार युवाहरुबाट करौडौ रुपैया ठगी गरी फरार रहेका लाल बहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौँको बाँसबारीमा ‘सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ खोलेर युवाहरुसंग करोडौ ठगी गर्ने लामालाई वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे । 

ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ घर भएका लामा सो सेन्टरका सञ्चालक हुन् ।

न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरू निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

लामाविरुद्ध वैदेशिक रोजगार कसुरमा २०७९ साल पुस २४ मा आङपासाङ शेर्पा, हरिबहादुर थापासमेत आठ सय ४५ जनाले उजुरी दिएका थिए ।

‘प्रतिवादीबाट हुनसक्ने जोखिम विश्लेषण गर्दा हाल यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने गरी यो आदेश गरिदिएको छ’, जारी आदेशमा भनिएको छ । 

लामाले न्यायधिकरण समक्ष दिएको बयान, मिसिल संलग्न नगद बुझिएको रिसिप्ट र चेकसमेतका कागजात र यी प्रतिवादीको बैंक खातामा जाहेरवालाहरुले रकम बुझाएको देखिने बैंक भौचर समेत प्रमाणका आधारमा तत्काल कसुरदार होइनन् भन्ने नदेखिएको आदेशमा उल्लेख छ ।

लामालाई गत पुस १६ गते काठमाडौँको शङ्खमूलबाट पक्राउ गरिएको थियो । सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरले स्थापना भएको ९ महिना बित्न नपाउँदै करिब एक हजारबढी युवाहरुसंग करोडौ रकम ठगी गरेको खुलेपछि प्रहरीको रोहवरमा वैदेशिक रोजगार विभागले सि स्टारमा २०७९ पुस २२ गते छापा मारेको थियो ।

सो समय विभागबाट खटिएका कर्मचारीले उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद गरेको थियो । ठगिएका युवाहरुको उजुरीपछि विभागकाे टाेली सि स्टारमा छापा मार्न पुगेकाे थियाे ।

कोरिया, मकाउ, लिथोनिया, दुबई, मलेसियालगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै सञ्चालक लामा समुहले एक हजार जना भन्दाबढी युवाहरुबाट जनही १ लाखदेखि १४ लाखसम्म उठाएर फरार भएका थिए । वैदेशिक रोजगार विभागका अनुसार उक्त ट्रनिङ सेन्टरको विरुद्ध एक हजारभन्दा बढी लिखित तथा मौखिक उजुरी परेका छन् ।

उजुरीका आधारमा लामा समुहले ५० कराेडकाे हाराहारीमा ठगी गरेकाे अनुमान प्रहरीकाे छ । ठगीमा संलग्न लामा समुहका अन्य भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनिहरुको समेत खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सिभिल फलाेअप:यसअघि प्रकाशित समाचारहरु

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार