काठमाडौँ । एक हजार जना भन्दा बढी युवाहरुबाट करौडौ रुपैया ठगी गरी फरार रहेका लाल बहादुर लामा पक्राउ परेका छन् । काठमाडौँको बाँसबारीमा ‘सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ खोलेर युवाहरुसंग करोडौ ठगी गर्ने लामा सोमबार शंखमुल पार्कबाट पक्राउ परेका हुन् ।
उनलाई साेमबार दिउँसाे करिब ४ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको डिएसपी गोविन्द पन्थीले सिभिलखबरलाई बताए ।
ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ घर भएका लामा सो सेन्टरका सञ्चालक हुन् । उनि एक बर्षदेखि फरार थिए ।
सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरले स्थापना भएको ९ महिना बित्न नपाउँदै एक हजारबढी युवाहरुसंग करोडौ रकम ठगी गरेको खुलेपछि प्रहरीको रोहवरमा वैदेशिक रोजगार विभागले सि स्टारमा २०७९ पुस २२ गते छापा मारेको थियो ।
सो समय विभागबाट खटिएका कर्मचारीले उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद गरेको थियो । ठगिएका युवाहरुको उजुरीपछि विभागकाे टाेली सि स्टारमा छापा मार्न पुगेकाे थियाे ।
कोरिया, मकाउ, लिथोनिया, दुबई, मलेसियालगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै सञ्चालक लामा समुहले एक हजार जना भन्दाबढी युवाहरुबाट जनही १ लाखदेखि १४ लाखसम्म उठाएर फरार भएका थिए । वैदेशिक रोजगार विभागका अनुसार उक्त ट्रनिङ सेन्टरको विरुद्ध एक हजारभन्दा बढी लिखित तथा मौखिक उजुरी परेका छन् ।
उजुरीका आधारमा लामा समुहले ५० कराेडकाे हाराहारीमा ठगी गरेकाे अनुमान प्रहरीकाे छ । ठगीमा संलग्न लामा समुहका अन्य भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनिहरुको समेत खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।