काठमाडौँ । एक हजारभन्दा बढी युवालाई वैदेशिक रोजगारीको लोभ देखाएर सामान्य तालिम केन्द्र सञ्चालन गरी करोडौँ रकम ठगी गर्ने सि-स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरमाथिको अनुसन्धानमा वैदेशिक रोजगार विभागले सिन्को भाँच्न नसकेपछि त्यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष चासो देखाएको छ ।
देशभरका युवालाई विभिन्न प्रलोभनमा फसाएर सि-स्टारका सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपानेले पचास करोडभन्दा बढी रकम ठगी गरेर फरार भएको महिनौँ वित्दा पनि उनीहरुको विषयमा परेको उजुरी माथि वैदेशिक रोजगार विभागले खास प्रगति गर्न सकेको छैन । त्यसैले गम्भिर विषयलाई महत्व कम दिएपछि मन्त्रालयले विशेष चासोका साथ अनुसन्धान टोलीमाथि प्रश्न उठाएको छ ।
काठमाडौँ महानगरपालिका ३ बाँसबारीमा रहेको सि-स्टारले तालिम केन्द्र स्थापना गरेर कानुन विपरित विदेश पठाउने भन्दै युवाहरुबाट करोडौँ ठगी गरेर सञ्चालक लामा र सिइओ न्यौपाने २ महिनादेखि फरार छन् । ठगीको गम्भिर अपराधको घटना भएकाले सिभिलखबरले निरन्तर फलोअप समाचार दिँदै आएको छ ।

सिभिलखबरसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विभागबाट जानकारी आउनुपर्नेमा पत्रकारले सोधेपछि मात्रै जानकारी आएको भन्दै अच्चमित बनेको सुनाए ।
‘यत्रो ठगीको केस हुदा हामीकहाँ किन जानकारी आएन, म अचम्मित भएँ’ प्रवक्ता घिमिरेले सिभिलखबरसँग भने ‘म तत्कालै आफैँ जानकारी लिन्छु, यत्रो युवालाई ठगेर कोही भाग्न पाउँदैन ।’
उनले सबै संयन्त्र प्रयोग गरेर भए पनि ठगी गर्ने लामा र न्यौपानेलाई उम्कन नदिने प्रतिवद्धता जनाए । यस विषयमा मन्त्रालयका तर्फबाट तत्काल जानकारी लिने र हालसम्मको प्रगतिबारे विभागसँग छलफल अघि बढाउने उनले बताए । वेदेशिक रोजगार विभागले गत पुस २२ गते सेन्टरको कार्यालयमा छापा मारेको थियो ।
प्रहरीसहितको सहयोगमा विभागले छापा मार्दा ९८० जनाको पासपोर्ट भेटेएको थियो । सो लगत्तै विभागले अनुसन्धान तथा मुद्दा शाखाका प्रमुखसमेत रहेका यादवप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय छानबिन तथा अनुसन्धान समिति बनाएको थियो ।
तर उक्त घटनाको खास अनुसन्धान नै हुन सकिरहेको छैन । विभागले सिस्टारमा छापा मारेकै २ महिना हुँदासमेत अनुसन्धान समितिले पिडितबाट उजुरी लिनेबाहेक अन्य प्रक्रिया अघि बढाउन सकेको छैन ।
यसबारे नियामक निकाय वैदेशिक रोजगार विभागले मन्त्रालयलाई जानकारी पनि नगराएको पाइएको छ । ट्रेनिङ सेन्टर स्थापना गरेर मेनपावरको काम गर्न खोज्ने सिस्टारले पिडित बनाएको भन्दै अहिलेसम्म एक हजारभन्दा बढी उजुरी विभागमा परिसकेको छ ।
हरेकसँग १ लाखदेखि १४ लाखसम्म रकम लिएर कोरिया, मकाउ, लिथोनिया, दुबई, मलेसियालगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै ५० करोडभन्दा बढी रकम ठगी गरेको विभागले जनाएको छ । विभागले प्रभावकारी अनुसन्धान गर्न नसक्दा पीडितहरु झनै पीडित बन्न पुगेका छन् ।
यस अघिका समाचारहरुः