काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका ८ डाक्टरमध्ये एकजना सक्कली भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएका डा रन्जितकुमार यादवको शैक्षिक प्रमाणपत्रमा कुनै समस्या नभएको पाइएको हो ।
नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै सीआईबीको पक्राउमा परेका पिपरा गाउँपालिका-८, महोत्तरीका यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएको हो ।
सीआईबीले त्यही नाम गरेका व्यक्तिलाई नक्कली भनेर सक्कली डाक्टरलाई नियन्त्रणमा लिएको देखिएको छ । डा. रञ्जित सक्कली चिकित्सक भएको पुष्टि भएसँगै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अपरेशन ‘फोक्सट्रोट चार्ली’को विश्वसनीयता माथि नै प्रश्न उठेको छ ।
काठमाडौं जिल्ला अदालतले यादवसहित ७ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको समय दिएको थियो ।
ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन् ।
अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा रञ्जितकुमार यादव, शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापा छन् ।
यो पनि पढ्नुहोस