काठमाडौँ । वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनुमती दिन अध्यागमन विभागले ४ सर्त अघि सारेको छ । आज विभागले प्रेस विज्ञप्ती जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनमुती दिने सम्बन्धमा ४ सर्त अघि सारेको हो ।
अध्यागमन विभागले विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेस गरेका कागजातहरू शङ्कास्पद देखिएपछि प्रस्थान अनुमति नदिइएको समेत स्पष्ट पारेको छ ।
पछिल्लो केही दिन यता कुवेत जान लागेका श्रमिकहरूको सन्दर्भमा निजहरूले पेस गरेका कागजातहरूको प्रारम्भिक रूपमा छानबिन गर्दा केही श्रमिकहरूले पेस गरेको भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको र भिसाको अवस्था वेटिङ अप्रुभल देखिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति तथा सम्झौता पत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतको विषयमा थप छानबिन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानबिन समिति समेत गठन भई कार्य प्रारम्भ भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
छानबिन समितिको प्रतिवेदन प्राप्त भई अर्को निर्णय नहुँदासम्मका लागि वैदेशिक रोजगारमा जाने सबै यात्रुहरूलाई प्रस्थान अनुमति दिन विभागले ४ सर्त अघि सारेको छ ।
यि हुन् विभागका ४ सर्त
१. अङ्ग्रेजी बाहेक अन्य भाषामा भएका भिसा अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेस गर्नुपर्ने।
२. भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति / सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेसा एउटै हुनुपर्ने ।
३. Parent [Company/ Holding Company अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त Parent Company/Holding Company ले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेस गर्नुपर्ने ।
४. कुवेत जाने श्रमिकहरूको Evisa को सम्बन्धमा सम्बन्धित मेनपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिबद्धतापत्र पेस गर्नुपर्ने ।
यी समाचारपनि हेर्नुहाेस्
महानिर्देशकको राजीनामा माग्दै मेनपावर व्यवसायीले घेरे अध्यागमन विभाग
विनाकारण श्रमिकलाई एयरपोर्टबाट फर्काएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायीको आपत्ति