काठमाडौँ । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई अध्यागमन कार्यालयले एयरपोर्टबाट फर्काएकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ गत बुधबार र बिहिबार कुवेत जान लागेका ११७ र असार २४ गते आइतबार जोर्डन जान लागेका १५ जना गरी १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काइ अनावश्यक दुःख दिने काम भइरहेको बताए ।
वैदेशिक रोजगारमा जाने श्रमिकको मागपत्र, भिषा, हवाई टिकट जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक रोजगार विभागको भएको र सम्पुर्ण प्रक्रिया पुरा गरी उडानका लागि गएका कामदारको करार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालयको क्षेत्राधिकार नभएको अध्यक्ष भण्डारीले बताए ।
यसरी श्रमिकलाई अनावश्यक कागजातको जाँचको बाहानामा उडान अनुमति नदिई फर्काउँदा हवाई टिकट बापत ठूलो आर्थिक क्षति पुगेको र कतिपय कामदारको भिषा समाप्त भै रोजगार नै गुम्ने उनले बताए ।
यसले गर्दा व्यवसायीलाई हवाई टिकट बापत ठूलो आर्थिक क्षति पुगेको उनको भनाइ छ ।
यसै सम्बन्धमा संघले श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री सरत सिह भण्डारी, सचीव केवल प्रसाद भण्डारी र उप प्रधान एबम गृहमन्त्री नारायण काजी श्रेष्ठ सङ छलफल गरी कामदार को क्षतिपुर्ती र सहज ढंगले कामदार वैदेशिक रोजगार जान पाउनुपर्ने बिषयमा ध्यानाकर्षण गराएको थियो ।
