गोरखा । दिनप्रतिदिन बढ्दै गइरहेको डेंगु रोगको जोखिम कम गराउन गोरखा नगरपालिकाले प्यूपा र लार्भा नष्टको अभियान सुरु गरेको छ । अभियान अन्तर्गत पहिलो दिन सदरमुकाम क्षेत्रका ग्यारेज तथा वर्कसपहरुको अनुगमन गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीका अनुसार वडा नम्बर ८ को खोलखोले, ९ को ठिगुरेश्वाँरा तथा लक्ष्मीबजार क्षेत्रमा डेंगुका बारे सचेतना जगाउनुका त्याहा सञ्चालित ग्यारेज, वर्कसपहरुमा रहेका थोत्रा टायरहरुमा जमेको पानी नष्ट गरिएको छ । त्यससंगै खुला आकाशमुनी थोत्रा टायर, बाल्टी तथा पानी जम्ने खाल्डाखल्डी नबनाउन स्थानीयलाई सचेत समेत गराइएको रेग्मीले बताए ।
हालसम्म गोरखा नगरपालिका क्षेत्रका १६ जनालाई डेंगु संक्रमणको पहिचान भएको बताइएको छ । धरानलाई केन्द्र बनाए देशैभर फैलिएको डेंगुको संक्रमणलाई नगरक्षेत्रमा थप फैलिन नदिने तर्फ आफूहरु सजग र सचेत रहेको स्वास्थ्य शाखा प्रमुख रेग्मीको भनाई छ ।
उनका अनुसार १४ वटै वडामा यस सम्बन्धि सचेतनाका कार्यक्रम सुरु भएको छ । डेंगुको रोकथाम, न्यूनिकरण तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालनका लागि शाखाले १४ वटै वडा तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र समेत गरेको जनाएको छ ।
हाल देशका ७१ जिल्लामा यसको संक्रमण फैलिएको छ भने झण्डै ८ हजार यसबाट संक्रमित भइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । संक्रमणबाट हालसम्म ७ जनाको ज्यान समेत गइसकेको इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा रुद्र मरासीनीले सिभिलखबरलाई बताए ।
यो पनि पढ्नुहोस :