पछिल्लो समय धरानलाइ केन्द्रबिन्दु बनाएर नेपालभर डेङ्गुको प्रकोप फैलदो क्रममा छ । धरानमा मात्रै ४ हजारभन्दा बढी यसबाट संक्रमित भइसकेका छन् भने अन्य जिल्लामा समेत सयौको संख्यालाई संक्रमण छ । अघिल्लो बर्ष समेत डेङ्गु काठमाडौंसहितका शहरमा यो महामारीको रुपमा देखा परेको थियो । हजारौं संक्रमित भइसक्दा समेत अहिलेसम्म तिनै तहका सरकारले यसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा ठोस योजना ल्याउन र कार्यान्वयन तहमा जान सकेका छैनन् । डेङ्गु रोग संक्रमणको प्रकृति. अवस्था, ब्यवस्थापन, योजना र उपचारका बारे सिभिलखबरकर्मी मोहसिन अलि मियाँले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनसंग सिभिलसंबाद गर्नुभएको छ ।
पछिल्लो समय नेपालमा डेङ्गु रोग फैलिएकै हो ?
यसलाई यसरी बुझौ, धरानलाई केन्द्र बनाएर आसपासका क्षेत्रमा डेङ्गु रफ्तारमा अघि बढेको देखिन्छ । यो आजभोली रोकिने जस्तोपनि देख्दिन म । किनकी यसलाई फैलाउने मुख्य कारक तत्व भनेको लामखुट्टे हो, अहिले जताततै पानीहरु जम्ने बेला छ, जसले यसको जीवनचक्तलाई मलजल पु¥याएको छ । लामखुट्टे त सयौ होइन नी, हजारौं, लाखौ हुन्छन् ।
ति लामखुट्टे अहिले घरघर पुगेको अवस्था छ । अहिलेको अवस्थालाई अघिल्लो बर्ष अर्थात २०२२ मा काठमाडौंमा फैलिएको डेङ्गुको महामारीलाई दाँजेर हेर्दा लगभग उस्तै उस्तै अवस्था देख्छु म । अहिले जति संख्यामा यसबााट बिरामी परेका छन्, आगामी हप्ता झन् यसको समस्या झनै बढ्ने जस्तो आँकलन मैले गरेको छु ।
त्यति मात्रै होइन, सबै मिलेर लामखुट्टेका लार्भालाई खोजेर नष्ट गर्ने अभियान देशैभर सुरु गर्न ढिलाई भयो भने त स्थिती भयावह नी आउन सक्छ ।
कत्तिको खतरनाक रोग हो डेङ्गु ?
यसमा अघिल्लो बर्षको अनुभव स्मरण गर्न चाहान्छु, बिरामी आएर मसंग ‘डाक्टर साव मलाई जिउँदै मार्यो’ भन्थे । अब आफै साचौ, यो कत्तिको खतरनाक हो भनेर । डेङ्गुका बिरामी जिन्दगीमा पहिलो पटक यति धेरै पिडा खेपे भनेर रुन्थे, कराउँथे । तर डेङ्गुका सबै बिरामीलाई त्यस्तो पिडा नहोला, कसैलाई अलि अलि पिडा होला, कसैलाई ठिक्क होला । तर जसलाई जटिल वा कडा किसिमको डेङ्गु लाग्छ नी, त्यसलाई साच्चै गारै बनाउँछ ।
तिन पटक कोभिड हुदाँ सहेको मान्छेको अनुभव सुनाउँछु, ‘मलाई तिन पटक कोभिड भयो, त्यति हुँदा नि मरिएला जस्तो लागेन तर डेङ्गु हुँदा चाही बाँचिएला जस्तो नै लागेन डा. साव’ उसले भन्थ्यो ।
डेङ्गुको सामान्यतया एउटा फेज हुन्छ, त्यो भनेको ‘फेवरायल फेज’ हो । जुन फेजबाट अधिकांश बिरामी निको हुन्छन्, यो भनेको ज्वरोको एक अवधी हो, जसमा आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरिरमा ससाना विविरा देखिने, शरिरका सबै जोर्नी दुख्ने, शरिरै दुख्ने लगायत यी सबै कुरा झण्डै झण्डै ८–१० दिनको एउटा अवधी हुन्छ, त्यो अवधी नै सबैभन्दा पिडादायी अवधी हो । डेङ्गु लागिसकेपछि त्यो अवधी पार गर्नै पर्छ ।

यसमा फेरी प्रश्न आउला, ‘औषधी छैन र ?’ तर समस्या के भइदिन्छ भने, यस्तो बेला दुखाई कम गर्ने जस्तै ‘पेन किलर’ लगायतका औषधीहरु हामी नखानुस् भन्छौ, अरु भएका औषधी न चलाउन सक्ने अवस्था रहदैन । किनकी त्यस्ता औषधीले त्यस्तो बेला अर्को समस्या निम्त्याउन सक्ने सम्भावना हुन्छ । जस्तै रक्तश्राप हुने, पेटमा पानी जम्ने भइदिन सक्छ । अनि त्यै सिटामोल खायो बस्यो, त्यो अवधी नसक्किउनजेल हुने पिडा त सहनै पर्यो ।
हो त्यसैले यो खतरानाक होइन, निक्कै पिडादायी रोग हो । रोगको न्याचुरल कोर्स हुन्छ जुन ‘फेभरायल फेज, क्रिटिकल फेज र रिकभरी फेज’ भन्छौ । हो यो क्रिटिकल फेज जुन भनेका छौ त्यो चाँही कडा खाले डेङ्गु लागेकालाई हुने हो । जसलाई मैले ४८ घण्टे पनि भन्ने गरेको छु । हो यो ४८ घण्टासम्म चाही ज्यादै रिक्सको समय हो । यो अवधीमा मेन्टेन भयो रिकभरी फेज तिर जान्छ र बिस्तारै निको क्रम सुरु हुन्छ ।
लक्षण कस्ता हुन्छन् डेङ्गुका ?
सामान्यतया ज्वरो आउने, जिउ दुख्ने, आँखाको गेडी दुख्ने मात्रै होइन खस्ला जस्तै हुने, जोर्नी, मांशपेशीहरु दुख्ने, कतिपयलाई वाकवाक लाग्ने, शरिर पूरै दुख्ने, खान मन नलाग्ने यस्तै यस्तै लक्षण डेङ्गु लाग्दा देखिन्छन् । तर मुख्य कुरा त पिडाकै कुरा हो । शारिरिक पिडा चाही यति धेरै हुन्छकी, धेरै मान्छेको पहिलो अनुभव भनेर हामीलाई सुनाउनुहुन्छ ।
यसको उपचार पद्धती कस्तो र कसरी हुन्छ ?
साच्चै भन्नुपर्दा यसको स्पेशल यहि औषधी हो भन्ने छैन । तर लक्षणको आधारमा हामीले यो औषधीहरु दिने गर्छौ । खासगरी दुखाई हुने भएकाले त्यो पिडा कम गर्न हामीले ‘प्यारासिटामोल’ कै प्रयोग गर्ने गर्छौ । शरिर कमजोर हुने भएकाले र भाइरल इन्फेक्सन हुने भएकाले झोलिलो पदार्थ खान हामी सिफारिस गर्छौ ।

डेङ्गु रोग फैलिन नदिन के काम भएको छ त ?
डेङ्गु नियन्त्रणका लागि यस्तो गर्यो भन्ने त मैले सुनेकै छैन । तर अब चाही ढिला गर्नै हुन्न भन्ने मलाई लाग्छ । जबसम्म लार्भा र प्यूपा नष्ट गर्ने अभियान थाल्दैनौ तबसम्म डेङ्गु घट्ने वाला छैदैछैन । डेङ्गुको मुख्य औषधी नै लार्भा र प्यूपा नष्ट गर्ने हो । यो नै नगरी अरु अरु यस्तो गरे र त्यस्तो गरे भन्नु चाँही हास्यास्पद मान्छु म ।
तर यसमा सरकार एक्लैले गरेर केहि हुने वाला छैन । यसमा तिनै तहका सरकार, त्यसमा पनि स्थानीय तह, नीजि क्षेत्र र समुदाय सबै लाग्नुपर्छ । लार्भा बन्ने, लामखुट्टे बस्ने ठाउँको पहिचान गर्नुपर्छ र नष्ट गर्नुपर्छ । यो अभियान देशैभरी चलाए मात्रै केहि हदसम्म यो समस्या कम होला, नत्र आउटब्रेक हुन सक्छ ।
‘डेङ्गु आउटब्रेक’ भइदियो भने त्यसको ब्यवस्थापन गर्न सरकार सक्षम छ त ?
उदाहरण धरान नै छ त । उपचार नपाएर कति जनाको त ज्यान गयो भन्ने सुनिरहनु भएको छ नी । अस्पतालमा बेड खाली नभएर कोभिडमा खोलिएर बन्द भएका उपचार केन्द्रहरु बल्ल खोल्न थालिएको छ । डेङ्गु आउटब्रेक भइहाल्यो भने त अहिले हामीसंग भएका अस्प्ताल र तिनका बेडले नपुग्न सक्छ । तर हामीले त्यस्तै अवस्था आइहालेमा वैकल्पिक उपचार केन्द्रहरुको बारेमा चाही बेलैमा योजना बनाउँदा राम्रो हुन्छ जस्तो लाग्छ । किन भने हामीले कोभिडले पनि त धेरै कुरा सिकाएको छ त ।
गएको सालपनि त भएको थियो नि डेङ्गुको महामारी । हो ति अनुभवहरुलाई संगालेर राख्ने होइन, अनुभवलाई कार्यान्वयन गर्ने हो नि । डेङ्गु आउँछ जान्छ भनेर सुतेर बस्ने हो भने चाही अवस्था भयावह नहोला भन्न सकिन्न ।
डेङ्गु लाग्नै नदिन चाही के गर्ने हो खास ?
त्यो भन्न गारो छ । लाग्ने भनेको लामखुट्टेको टोकाईबाट हो । तर कसरी जोगिनुहुन्छ ? रातमा सुत्दा पो झुल लाएर सुत्नु होला । तर दिनमा के गर्ने ? अहिले मैले इन्टरभ्यू दिई रहेको छु, अहिले नै मलाई खुट्टामा टोकिराछ । अनि के गर्ने ? लामखुट्टे सबै ठाउँमा हुन्छन् । दिनमा टोक्ने लामखुट्टेबाट कसरी जोगिने ? हो भएका सबै लार्भा र प्यूपा खोजी खोजी नष्ट गर्ने नै हो । अरु सरल उपाय केहि छैन । टोकाईबाट बच्नु भन्न जति सजिलो छ, त्यतिनै ‘प्राक्टिकल्ली’ गारो कुरा हो ।
अर्को कुरा चाही हामीले घर, कार्यालय वरपर पानी जम्न नदिने, पूराना टायरहरु नराख्ने, फोहोर नगर्ने जस्ता कुरामा ध्यान दियौं, अथवा लामखुट्टे उत्पादन हुने वा बस्न नै नपाउने वातावरण गर्न सक्र्या भने यसको ‘रिक्स’ धेरै कम हुन्छ ।
