काठमाडौं । नेपालमा हालसम्म ७१ जिल्लामा डेंगुको संक्रमण फैलिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा सोमबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा विभागले सो जानकारी गराएको हो ।
कार्यक्रममा महाशाखाका निर्देशक डा रुद्र मरासीनीले डेंगुको प्रकापको वर्तमान अवस्थाका बारे जानकारी गराएका थिए । उनका अनुसार यो बर्ष धरानलाई केन्द्र बनाएर सुरु भएको डेंगुको प्रकोप देशका ७१ जिल्लामा फैलिसकेको छ । जसबाट ७ हजार जनाभन्दा बढी संक्रमित भएका छन् ।
केहि हप्ताअघिदेखि फैलिएको डंगुबाट ७ हजार ७ सय ३३ जना संक्रमित भएको महानिर्देशक डा मरासीनीले जानकारी दिए । त्यस्तै डेंगुको संक्रमणबाट हालसम्म ७ जनाको ज्यान समेत गइसकेको उनले बताए ।
डेंगुको संक्रमणलाई थप फैलिन नदिन र रोकथामका लागि विभागले विभिन्न योजना समेत कार्यान्वयन गरिरहेको उनले सुनाए । लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले देशभर लामखुट्टेको प्यूपा र लार्भा नष्टको अभियान समेत थालिएको डा मरासीनीको भनाई छ ।
कार्यक्रममा उनले अघिल्लाको बर्षहरुमा फैलिएको डेंगुको महामारी, ब्यवस्थापन, रोकथाम र उपचारमा गरिएको अनुभव समेत सुनाएका थिए । अघिल्लो वर्ष नेपालमा फैलिएको डेंगुबाट ५४ हजार सात सय ८४ जना संक्रमित भएका थिए भने ८८जनाको मृत्युको मृत्यु भएको थियो । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगु देखिएको र हरेक बर्ष यसको संक्रमण दर बढ्दै गएको विभागको तथ्यांकमा उल्लेख छ ।
हालसम्म सबैभन्दा बढी संक्रमण सुनसरी र दोस्रोमा धादिङमा यसको संक्रमण पुष्टि भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेंगु संक्रमितको उपचार सबै सरकारी अस्पतालमा निशुल्क हुने गरेको बताए । साथै उनले डेंगु रोकथाम र नियन्त्रणकालागि प्यूपा र लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
संक्रमितहरुको जाँचको शुल्क तथा उपचारमा समेत एकरुपता ल्याउन सरकारले नीजि अस्पतालहरुसँग पनि समन्वय गरिरहेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमन सिंहले यसको संक्रमण रोकथाममा सबैको एकता जरुरी रेको बताए । भएका स्रोत साधन र जनशक्ति परिचालन गरेर सरकारले संक्रमण थप फैलिन नदिन काम गरिरहेको बताउदै उनले यसमा सबैको साथ, सहयोग र सहकार्यको खाँचो रहेको बताए ।
त्यस्तै कार्यक्रममा शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। डेंगुको मुख्य कारण पूराना टायर रहेकाले त्यसको ब्यवस्थापन र पानी जम्न नदिने वातावरण सृजना गर्नुपर्नेमा उनको जोड छ ।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा डेंगु, यसको अवस्था, योजना र हालको प्रगतीका बारे अन्तरक्रिया समेत भएको थियो । सहभागी सञ्चारकर्मीहरुले संक्रमण फैलिन नदिन सरकारलाई बिभिन्न सुझाव समेत दिएका थिए ।
यो पनि पढ्नुहोस :