काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने कमल मेयर साहका ज्वाईं रहेकोसमेत खुल्न आएको छ ।
मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई शङ्का लागेर जाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको प्रवेशपत्र भेटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समिति मातहतमा रहेको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास समन्वय इकाई लगायतका प्रतिनिधिसहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको हो ।
मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।
यो पनि पढ्नुहोस