गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको स्यारखोलातर्फबाट एक्कासि बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।
चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको आशंका गरिएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन्।
आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ।