• शनिबार, साउन ९ २०८३

आफ्नो एसईई परीक्षा दिन मेयरले ज्वाईं खटाएपछि…


आइतबार, चैत्र १९ २०७९
1.5K
Shares

कामठाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले एसईई परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरेको खुलेको छ । मेयर साहले एसईई परीक्षा पास गर्न नक्कली परीक्षार्थी प्रयोग गरिहेको खुलेको हो ।

मेयर साहको सट्टा आज आइतबार गणित विषयको परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने कमल मेयर साहका ज्वाईं रहेकोसमेत खुल्न आएको छ ।

मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई शङ्का लागेर जाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको प्रवेशपत्र भेटिएको थियो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समिति मातहतमा रहेको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास समन्वय इकाई लगायतका प्रतिनिधिसहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको हो ।

मेयर साहको नाममा प्रवेशपत्र भेटिएको र उनको नाममा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको भेटिएको रौतहटका प्रजिअ मिश्रले पुष्टि गरे ।

‘हामीले जिल्लाभरको परीक्षा अनुगमन गर्न तिन लेयरमा टोली खटाएका छौँ, आज त्यो स्कुलमा जाँदा उहाँको शङ्कास्पद बव्यवहार देखिएपछि चेक गर्दा प्रवेश पत्रमा रहेको फोटो र मान्छेको अनुहार नमिलेपछि पक्राउ गर्यौँ’ प्रजिअ मिश्रले सिभिलखबरसँग टेलिफोनमा भने, ‘मेयरको नाममा प्रवेशपत्र भेटिएको सत्य हो, अहिले नक्कली परीक्षार्थीलाई जिल्लामा ल्याएर बयान लिने काम भइरहेको छ ।’

तर कसले खटायो, किन खटायो भन्ने सबै खुलिनसकेको उनको भनाइ छ । अनुसन्धान चलिरहेको र दोषी ठहरिए परीक्षामा खटाउने र खटिने दुवैलाई कारबाही गरिने प्रजिअ मिश्रले बताए ।

पक्राउ परेका उनी पेशाले इन्जिनियर रहेको खुलेको छ । आज गणित विषयको परीक्षा थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार