गोरखा — १४औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा सिरानचोक गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा विज्ञान शिक्षक समाजको सह–आयोजनामा माध्यमिक तहस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता तथा विज्ञान शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भएको छ।
सिरानचोक गाउँपालिकाको साइन्स हब विद्यालय श्री मण्डली माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाअन्तर्गत सञ्चालित १६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।
सामाजिक विकास समिति संयोजक जगदीश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले विज्ञान शिक्षण–सिकाइलाई थप प्रभावकारी र व्यवहारमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनले विद्यालय तहदेखि नै विज्ञान तथा प्रविधिप्रतिको रुचि र सिर्जनशीलता विकास गर्नुपर्ने बताए।
त्यस्तै, शिक्षा शाखा प्रमुख सुशील नरालले विज्ञान शिक्षक तथा विद्यार्थीलाई विज्ञान शिक्षण, सिकाइ र प्रयोगात्मक अभ्याससँग सम्बन्धित विभिन्न सन्देश, जानकारी तथा निर्देशन दिएका छन्।
प्रतियोगितामा श्री कृष्णज्योति माध्यमिक विद्यालय प्रथम, चम्पावती माध्यमिक विद्यालय द्वितीय र श्री मण्डली माध्यमिक विद्यालय तृतीय भएका छन्।
कार्यक्रममा विज्ञान शिक्षक समाज गोरखाका अध्यक्ष भीमनारायण श्रेष्ठले सहजीकरण गरेका थिए। सिरानचोक विज्ञान शिक्षक समाजका अध्यक्ष प्रकाश पोखरेल र सचिव प्रकाश वाग्लेले कार्यक्रमको समन्वय गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा सिर्जनात्मक सामग्रीसमेत प्रदर्शनी गरेका थिए।