• बुधबार, भाद्र ३१ २०८३

गोरखाका पोखरेलमार्फत बाढीपीडितलाई डा. फ्रान्जको ५ लाख बढी सहयोग


मंगलबार, भाद्र ३० २०८३
435
Shares

गोरखा । जर्मनीकी चिकित्सक डा. केट्रिन फ्रान्जले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेकी छन्। उनले गोरखा नगरपालिका–१०, छेवेटारका कमल पोखरेलमार्फत ५ लाख २७ हजार २७ रुपैयाँ सहयोग रकम पठाएकी हुन्।

व्यक्तिगत चिनजानका आधारमा डा. फ्रान्जले बाढीपीडितको सहयोगका लागि पोखरेलमार्फत उक्त रकम उपलब्ध गराएकी बताइएको छ। विदेशमा रहेर पनि विपद्मा परेका नेपाली नागरिकको पीडामा साथ दिने उद्देश्यले उनले सहयोग रकम पठाएको पोखरेलले जानकारी दिए।

पोखरेलले डा. फ्रान्जबाट प्राप्त सहयोग रकमलाई आफैं वितरण नगरी रोटरी क्लब अफ गोरखामार्फत बाढीपीडितसम्म पुर्‍याउने व्यवस्था गरेका छन्। सहयोग रकम क्लबलाई हस्तान्तरण गरिएको र क्लबको समन्वयमा प्रभावित परिवार तथा समुदायको आवश्यकता पहिचान गरी राहतमा उपयोग गरिने पोखरेलले बताए।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यससँगै गएको पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्पछि प्रभावित नागरिकलाई राहत, खाद्यान्न, स्वास्थ्य सामग्री तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा प्रवासी नेपालीहरूले सहयोग गर्दै आएका छन्।

यसै क्रममा जर्मनीबाट प्राप्त डा। फ्रान्जको सहयोगले विपद्को समयमा भौगोलिक दूरीभन्दा मानवताको भावना महत्वपूर्ण हुने सन्देश दिएको पोखरेलले बताए।

‘व्यक्तिगत चिनजानका आधारमा उहाँले सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो। प्राप्त रकम पारदर्शी र प्रभावकारी रूपमा पीडितसम्म पुगोस् भन्ने उद्देश्यले रोटरी क्लब अफ गोरखामार्फत सहयोग गर्ने निर्णय गरेका हौं,’ पोखरेलले भने।

विदेशबाट व्यक्तिगत सम्बन्धका आधारमा जुटेको सहयोग स्थानीय संस्थामार्फत प्रभावित समुदायसम्म पुर्‍याउने प्रयासले राहत वितरणमा समन्वय र पारदर्शितालाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार