रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि शहीद लखन गाउँपालिका–८ अन्तर्गत छापथोक र घर्तीगाउँले पनि एक्यबद्धता जनाएको छ ।
विभिन्न संघ–संस्था तथा टोल विकास समितिले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय संघ–संस्था, टोल विकास समिति, आमा समूह, सहकारी तथा पूर्व सुरक्षाकर्मीहरूको सहभागितामा उक्त रकम संकलन गरिएको छापथोक पम्पिङ लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर गोरखाका प्रमुख जिल्ला अधिकारीसमक्ष हस्तान्तरण गरिएको उनले बताए ।
सहयोग रकममध्ये छापथोक सुरक्षा समितिले ५० हजार रुपैयाँ, छापथोक पम्पिङ लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ४० हजार रुपैयाँ र छापथोक परोपकारी तथा आपत्कालीन कोषले २५ हजार १९५ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, अर्चले पाखा सामुदायिक वन उपभोक्ता समिति र डाँडागाउँ टोल विकास संस्थाले १०–१० हजार रुपैयाँ, कोलडाँडा टोल विकास संस्थाले ७ हजार रुपैयाँ तथा नमुना टोल विकास संस्थाले ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।
छापथोक टोल विकास संस्था, महादेवपुर घर्तीगाउँ टोल विकास संस्था, सन्तानेश्वर कृषि सहकारी संस्था, सरस्वती निगरानी आमा समूह र शहीद लखन गाउँपालिका–८ का पूर्व सुरक्षाकर्मीले ५–५ हजार रुपैयाँका दरले सहयोग गरेका छन् । यस्तै, जुन तारा आमा समूह घर्तीगाउँले २ हजार ७५० रुपैयाँ सहयोग गरेको छ ।
स्थानीय संघ–संस्थाहरूले विपद्को समयमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत र उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले स्वेच्छिक रूपमा रकम संकलन गरिएको उनले बताए ।
‘आफूहरू सुरक्षित रहे पनि सो क्षेत्रका नागरिक विपद्मा परेका बेला सहयोग गर्नु सामाजिक दायित्व भए पनि त्यस क्षेत्रमा परेको दुखलाई सहयोग पुगोस् भनेर स्वस्फूर्त रूपमा रकम संकलन गरेका हौं,’ उनले भने, ‘दुःखमा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरूको पीडामा साथ दिन सकियोस् भन्ने भावनाले सहयोग रकम जुटाइएर पठाएका हौं ।’
स्थानीय समाजसेवी पुर्ण कुमार श्रेष्ठ, ओम प्रकाश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रामकुमार श्रेष्ठ, वडा सदस्य ओम बहादुर खड्कासहितको संयुक्त पहलले सो रकम संकलन गरि सहयोग गरेको जनाएको छ ।