गोरखा । अहिले उत्तरी गोरखाको सडक सञ्जाल अस्तव्यस्त बनेको छ। पहिरोले सडक छेक्ने, खोलाले सडक कटान गर्ने र बाढीले पुल बगाउने क्रम बढेपछि धार्चे र चुमनुब्री गाउँपालिका जाने मुख्य सडक तथा पदमार्ग संकटमा परेका छन्।
गोरखा सदरमुकामबाट उत्तरी गोरखा जाने सार्वजनिक सवारीसाधन सोतीभन्दा माथि पुग्न सकेका छैनन्। सोतीबाट लापुबेशीसम्म भने बोलेरो तथा दुईपांग्रे सवारीसाधन जोखिम मोलेर सञ्चालन भइरहेका छन्।
धार्चे गाउँपालिकाको लिदिङमा गएको पहिरोका कारण लापुबेशीसम्म पुग्नसमेत समस्या छ। उक्त क्षेत्रमा करिब दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयले पैदल हिँडेर, सवारीसाधन परिवर्तन गरेर र जोखिम मोलेर यात्रा गर्नुपरेको छ।
खोर्लाबेसीमा खोलाले सडक कटान गर्नुका साथै सडक संरक्षणका लागि निर्माण गरिएका ग्याबियन संरचनासमेत भत्किएपछि धार्चे गाउँपालिकाको केन्द्र माछीखोलासम्मको यात्रा झन् कठिन बनेको छ।
सडकको अवस्था कति दयनीय छ भन्ने धार्चेकी सूर्य माया गुरुङको यात्राले देखाउँछ। सदरमुकाम आउन उनले एकै यात्रामा पैदल हिँड्नुका साथै बोलेरो र बस परिवर्तन गर्नुपर्यो।
“खोर्लाबेसीमा बाटो बन्द भएको रहेछ। हिँडेर लापुबेशीसम्म आएँ। त्यहाँ बोलेरो पाएपछि सोतीसम्म आएँ र सोतीबाट बस चढेर गोरखा बजार आएँ,” गुरुङले भनिन्।
धार्चेका शुकबहादुर गुरुङले पनि माछीखोलासम्म बस नचलेपछि खोर्लासम्म पैदल हिँडेर त्यहाँबाट मोटरसाइकलमार्फत सोतीसम्म आउनुपरेको बताए।
सडक बन्द, आपूर्ति प्रभावित
सडक अवरुद्ध भएपछि उत्तरी गोरखाका स्थानीयको आवतजावत मात्र होइन, दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको छ। सडकको अवस्था बिग्रिएसँगै गाउँसम्म खाद्यान्न तथा अन्य आवश्यक सामग्री पुर्याउन समस्या भएको धार्चे गाउँपालिकाले जनाएको छ।
धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार सडक सञ्चालनका लागि गाउँपालिकाले निरन्तर समन्वय गरिरहेको छ।
सडक कार्यालय गोरखा र हाइड्रोपावर कम्पनीका डोजर प्रयोग गरेर पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास भइरहेको उनले बताए।
“बाटो बनाएर गाडी चल्ने बनायो, फेरि ठूलो पानी पर्दा सडक बगाउँछ र बाटो बन्द भइहाल्छ,” बस्नेतले भने, “अहिले पनि सडक सञ्चालनका लागि निरन्तर प्रयास भइरहेको छ। सम्भवतः आज–भोलिमै गाडी चल्छ।”
मनास्लु पदमार्ग पनि जोखिममा
उत्तरी गोरखाको अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र चुमनुब्री जाने सडक तथा पदमार्गसमेत बर्खाको चपेटामा परेको छ। विभिन्न स्थानमा पहिरो जानुका साथै बाढीले पुल बगाएपछि चुमनुब्री क्षेत्रमा आवतजावत प्रभावित भएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार मनास्लु पदमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ भने बाढीले पुलहरू बगाएको छ।
केही दिनअघि आएको बाढीले नाम्रुङमा पुलसँगै घरसमेत बगाएको उनले बताए।
मनास्लु पदमार्गमा हरेक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक हिमाल आरोहण, पदयात्रा तथा लार्केपासका लागि पुग्ने गर्छन्। तर बर्खाले सडक र पदमार्गमा निम्त्याएको क्षतिले स्थानीयको दैनिकीदेखि उत्तरी गोरखाको पर्यटनसम्म प्रभावित भएको छ।
उत्तरी गोरखाको सडकमार्गमा बर्खाको समयमा हरेक वर्ष दोहोरिने पहिरो, कटान र पुल क्षतिले भरपर्दो यातायात पूर्वाधारको अभावलाई थप उजागर गरेको छ। अहिले स्थानीयको एउटै प्रश्न छ—बाटो कहिले खुल्छ र कहिलेसम्म यसरी जोखिम मोलेर यात्रा गर्नुपर्ने हो?