• बुधबार, भाद्र १७ २०८३

बाढीपीडितका लागि पोखराको इस्लामिक कल्याणकारी समाजले गर्‍यो ३ लाख सहयोग


बुधबार, भाद्र १७ २०८३
210
Shares

काठमाडौं । विपद्को कठिन घडीमा बाढीपीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले पोखराको इस्लामिक कल्याणकारी समाजले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

पोखरा महानगरपालिका–८ मा रहेको इस्लामिक कल्याणकारी समाजले भाद्र १० को भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको हो । बाढीका कारण प्रभावित परिवारले भोगिरहेको कठिनाइलाई केही हदसम्म कम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समाजले जनाएको छ ।

विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत र सहयोगको आवश्यकता पर्ने भएकाले आफ्नो सामाजिक तथा मानवीय दायित्वअन्तर्गत मुस्लिम समुदायका ब्यक्तिहरुबाट स्वेच्छिक चन्दा संकलनबाट राहत कोषमा रकम जम्मा गरिएको बताइएको छ । समाजले संकटको समयमा जात, धर्म, समुदाय वा अन्य कुनै विभाजनभन्दा माथि उठेर मानवता र पीडित नागरिकको सहयोगमा जुट्नुपर्नेमा जोड दिएको अध्यक्ष अब्दुल मलिक मियाँले बताए ।

समाजले आफूले गरेको सहयोगबारे जिल्ला प्रशासन कार्यालय, कास्की पुगेर प्रमुख जिल्ला अधिकारी कुमान सिं गुरुङलाई समेत जानकारी गराएको छ । विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै सामाजिक संस्था, समुदाय र नागरिकको समेत महत्वपूर्ण भूमिका रहने समाजको ठहर छ ।

विपद्को समयमा मानवीय सेवाका लागि हातेमालो गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा समुदायप्रति समाजले आभारसमेत व्यक्त गरेको छ ।

समाजले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय तथा परोपकारी गतिविधिलाई निरन्तरता दिने योजना बनाएको कार्यसमिति सदस्य जुनैद खानले बताए ।

यस अभियानमा सहयोग गर्ने सबै दाताको योगदान स्वीकार होस् र विपद्मा परेका परिवारले छिट्टै राहत तथा सहज जीवनयापनको अवसर पाऊन् भन्ने कामनासहित ‘अल्लाह’सँग दुआ (प्रार्थना) समेत गरिएको सदस्य खानको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार