• सोमबार, भाद्र १५ २०८३

सिण्डिकेटधारीले बाटो छेकेर कुटे: अध्यक्ष खड्का


सोमबार, भाद्र १५ २०८३
1K
Shares

गोरखा । यातायात सेवा सञ्चालन गर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किँदा गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का ‘जीवन’माथि कुटपिट भएको छ। आइतबार दिउँसो गोरखा सदरमुकामस्थित आयुर्वेदिक चोकमा आफूलाई बाटो छेकेर कुटपिट गरिएको खड्काले बताएका छन्।

कुटपिटबाट टाउको, खुट्टा र घुँडामा चोट लागेका खड्कालाई प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन लगिएको परिवार स्रोतले जनाएको छ। खड्काका अनुसार सिटी स्क्यानका क्रममा चिकित्सकले टाउकोमा समस्या देखिएको बताएका छन्।

खड्काले गोरखामा अटो, म्याजिक भ्यान, माइक्रोबस तथा बस सञ्चालन गर्ने विषयमा विवाद रहँदै आएको बताए। आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भएको र छलफलपछि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा थप छलफल गर्ने वा कानुनअनुसार सेवा सञ्चालन गर्ने विषयमा सहमति भएको उनको भनाइ छ।

तर, प्रहरी कार्यालयबाट घर फर्किने क्रममा आयुर्वेदिक चोकमा मोटरसाइकल रोकेर आफूलाई हेल्मेट र मुक्का प्रहार गरिएको खड्काले आरोप लगाए। घटनामा १०–१५ जना संलग्न रहेको उनको दाबी छ।

“गोरखाका सिण्डिकेटधारी यातायात व्यवसायीहरूले हामीलाई रोक्न खोजेका हुन्। मैले प्रहरी सामुन्ने नै ज्यान गए पनि पछि हट्दिनँ, कानुनसम्मत रूपमा चलाउँछु भनेँ। त्यसपछि उनीहरूले मलाई बाटो छेकेर कुटपिट गरे,” खड्काले भने।

उनले अटो तथा म्याजिक भ्यान सञ्चालन नगर्न चेतावनी दिँदै बजारबासीको सामुन्ने आफूलाई कुटपिट तथा लछारपछार गरिएको दाबी गरेका छन्।

खड्काका अनुसार गोरखामा ७५ वटा अटो र ३० वटा म्याजिक भ्यान सञ्चालन गर्ने विषय उच्च अदालतमा विचाराधीन छ। सरकारले माइक्रोबस तथा बस सञ्चालनका लागि अनुमति (प्रमिट) दिएको भन्दै आफूहरूले कानुनअनुसार यातायात सेवा सञ्चालन गर्न खोजेको उनले बताए।

कुटपिटमा गोरखा मनकामना यातायात प्रालि, गोरखा दरौंदी यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिसँग सम्बन्धित व्यवसायी तथा मजदुर संलग्न रहेको आरोपसमेत खड्काले लगाएका छन्।

यसैबीच, गोरखकाली यातायात प्रालिका अर्का सदस्य राजन ढुंगानामाथि समेत आक्रमणको प्रयास भएको खड्काले बताएका छन्। उनका अनुसार बिहान पसलमा बसिरहेका बेला केही व्यक्तिहरू पसलअगाडि आएर आक्रमणको तयारी गरिरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको सहयोगमा पसल बन्द गरेर आफू सुरक्षित रूपमा घर फर्किएको उनले बताए।

तर, आरोपित पक्षले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

गोरखा मनकामना यातायात व्यवसायी प्रालिका महासचिव देबेन्द्र जंग कुँवरले घटनासँग आफ्नो संस्थाको कुनै सम्बन्ध नरहेको बताए। उनका अनुसार व्यक्तिगत लेनदेनका कारण घटना भएको हुनसक्ने आफूहरूले सुनेको तर त्यसबारे आधिकारिक जानकारी नरहेको बताए।

त्यस्तै, गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष दीपक बोहराले पनि घटनामा आफ्नो संस्थाको संलग्नता नरहेको बताए। राज्यको नियमअनुसार कुनै संस्था आएर सेवा सञ्चालन गर्न खोजे आफूहरूले रोक्ने प्रश्न नै नउठ्ने उनको भनाइ छ।

घटनाबारे पीडित खड्काले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार