गोरखा । घरको आँगन उस्तै छ। ढोका उस्तै छ। तर घरभित्रको खुसी हराएको छ। आफन्त फर्किएर आउलान् कि भन्ने आशामा गोरखाका धेरै परिवार दिनरात बाटो कुरिरहेका छन्।
भोटेकोशी नदीमा बाढी आएको पाँच दिन बितिसक्दा पनि आफ्ना मान्छेको अवस्था थाहा नहुँदा परिवारजन चिन्ता, पीडा र अनिश्चिततामा छन्। कतिपय परिवार मोबाइलमा एकपटक फोन आउँछ कि भनेर पर्खिरहेका छन् भने कतिपय आफन्त भेटिएको खबरको आशामा प्रहरी कार्यालय, अस्पताल र नदी किनारसम्म धाइरहेका छन्।
‘आफ्नो मान्छे फर्किएर आउलान् कि’ भन्ने एउटा आशाले उनीहरूलाई अझै पर्खाइमा राखेको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार बाढीपछि जिल्लाका विभिन्न स्थानीय तहका कम्तीमा ५१ जना नागरिक सम्पर्कविहीन छन्। पालुङटार नगरपालिकाका २८, शहीद लखन गाउँपालिकाका ७, धार्चे गाउँपालिकाका ३, अजिरकोटका १, आरुघाटका ३, बारपाक सुलिकोटका ६, गण्डकी गाउँपालिकाका १ र गोरखा नगरपालिकाका २ जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।
तर प्रहरी तथा प्रशासनमा सबै विवरण आइनसकेकाले सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। कतिपय परिवारले आफन्त हराएको जानकारीसमेत सम्बन्धित निकायलाई नदिएका कारण यकिन तथ्यांक संकलनमा कठिनाइ भएको प्रशासनले जनाएको छ।
नदी किनारमा शव भेटिँदै, परिवारको आशा र पीडा दुवै बढ्दै
बाढीले बगाएर ल्याएका शव गोरखास्थित त्रिशूली नदी किनारमा भेटिने क्रम जारी छ। अहिलेसम्म गोरखातर्फ रसुवाको भोटेकोशी हुँदै आएको बाढीमा बगाएर ल्याएका ६२ वटा शव संकलन गरिएको छ।
पहिचान हुनसक्ने सम्भावना रहेका केही शवलाई थप पहिचानका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। पहिचानको सम्भावना न्यून रहेका २९ वटा शवलाई शहीद लखन गाउँपालिका–९, बुंकोटघाटमा ब्यवस्थापन गरिएको छ।
शव भेटिँदै जाँदा आफ्ना आफन्तको खोजीमा रहेका परिवारको पीडा झन् गहिरिँदै गएको छ।
‘हराइरहेका आफ्ना मान्छे कतै जीवितै भेटिन्छन् कि भन्ने आशामै बसेका छौँ,’ एक आफन्तले भने, ‘फर्किएर घरको आँगनमा आइपुग्लान् कि भनेर परिवारका सदस्यहरू बाटो कुरिरहेका छन्।’
चितवनदेखि पोखरासम्म खोज्दै आफन्त
आफन्त हराएपछि गोरखाका कतिपय परिवार आफ्ना मान्छेको खोजीमा जिल्लाबाहिरसमेत पुगेका छन्। चितवन, पोखरालगायत बाढी प्रभावित क्षेत्रमा मानिस वा शव भेटिएको खबर पाएपछि स्थानीय, जनप्रतिनिधि र आफन्तहरू त्यहाँसम्म पुगेर खोजी गरिरहेका छन्।
पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेका अनुसार पालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा र छिमेकीसमेत बेपत्ता नागरिकको खोजीमा जुटिरहेका छन्।
तर लामो समयसम्म आफन्तको कुनै खबर नआउँदा परिवारजन मानसिक रूपमा समेत विक्षिप्त बन्न थालेका छन्। कहिले प्रहरी कार्यालय, कहिले अस्पताल र कहिले नदी किनार—उनीहरूको दिन यस्तै खोजी र प्रतीक्षामै बितिरहेको छ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाले बाढीपछि परिवारका सदस्य वा आफन्त सम्पर्कविहीन भएको भए नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बेपत्ता नागरिकको खोजी कार्य निरन्तर भइरहेको बताए। ‘हराइरहनुभएका नागरिकको खोजीका लागि आवश्यक समन्वय भइरहेको छ,’ उनले भने, ‘भेटिएका शवको पहिचान गराउने प्रयास भइरहेको छ।’
बाढीपछि पहिरोको अर्को कहर
यसैबीच, केही दिनअघि आएको बाढीको क्षति सम्हालिन नपाउँदै आइतबार फेरि बाढी आएको छ। पछिल्लो बाढीले गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यसअघि दुईवटा झोलुङ्गे पुल बगेका थिए भने एउटा पुलमा क्षति पुगेको थियो।
निरन्तरको वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। राजमार्गसँग जोडिएका कृष्णभीरलगायत विभिन्न क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ।
कृष्णभीरमा पहिरो गएपछि काठमाडौं जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। गोरखा सदरमुकाम–बुंकोट–नाम्जुङ–घैरुङ–दुर्वुङ–सिउरेनीटार हुँदै बेनीघाट तथा गोरखा सदरमुकाम–नाम्जुङ–बुंकोटघाट हुँदै बेनीघाट निस्कने बाटोलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने बताइएको छ।
तर सडक भत्किएको छ, पुल बगेका छन्, नदी उर्लिएको छ। भौतिक क्षतिको यो कहरबीच गोरखाका धेरै परिवारको ध्यान भने अझै एउटै कुरामा अडिएको छ—आफ्नो मान्छे फर्किएर घरको आँगनमा कहिले आइपुग्ला ?