• सोमबार, भाद्र १५ २०८३

बाढीपीडितका लागि अमेरिका बस्ने पालुङटारका युवाहरुले जुटाए ३ करोडको राहत कोष


सोमबार, भाद्र १५ २०८३
280
Shares

काठमाडौं । गएको बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन गोरखाको पालुङटार घर भई हाल अमेरिकामा बस्ने युवाहरूले ३ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोष घोषणा गरेका छन्।

युवा उद्यमी तथा अभियन्ता राजीव राजभाटको अगुवाइ तथा ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’को संयुक्त पहलमा कोष स्थापना गरिएको हो। अभियानको सुरुवात गर्दै राजभाटले आफ्नो व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिसकेका छन्।

राजभाट ‘भिजिट नेपाल’का अध्यक्षसमेत हुन्। उनका अनुसार तत्काल उद्धार तथा राहतका लागि परिचालन हुने ३० लाख रुपैयाँपछि कोषमा संकलित रकमलाई प्रभावित क्षेत्रमा दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनाका काममा खर्च गरिनेछ।

कोषमार्फत बाढी–पहिरोबाट क्षतिग्रस्त आधारभूत पूर्वाधार पुनर्निर्माण, घरबारविहीन परिवारको पुनर्स्थापना तथा प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।

अध्यक्ष राजभाटका लागि यो अभियान व्यक्तिगत पीडासँग पनि जोडिएको छ। उनको मूल घर गोरखाको पालुङटार हो। जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न गएका उनका निकट आफन्त तथा पालुङटार–५, नौखोरका ३० जनाभन्दा बढी छिमेकी बाढी–पहिरोमा परी अझै बेपत्ता रहेको बताइएको छ।

आफन्त तथा छिमेकीको खोजी र अवस्थाप्रतिको चिन्ताबीच पनि राजभाटले विपद्मा परेका सिंगो देशका नागरिकलाई सहयोग गर्ने अभियान अघि बढाएका हुन्।

विश्वभर रहेका नेपालीलाई अभियानमा जोड्ने उद्देश्यले ‘एक नेपाली-एक रुपैयाँ’ को अवधारणासहित ३ करोड रुपैयाँको कोष खडा गरिएको भिजिट नेपालका सदस्य समेत रहेका अर्का अभियान्ता किरण गिरीले सिभिलखबरलाई बताए ।

विपद्को कठिन परिस्थितिमा प्रवासमा रहेका नेपाली युवाहरूले अघि सारेको यो अभियानले उद्धारसँगै दीर्घकालीन पुनर्निर्माणमा समेत सहयोग पुग्ने गिरीको अपेक्षा छ।

सो बाढीमा परि हालसम्म ८ सय भन्दा बढीको शव फेला परिसकेको छ भने हजारौ अझै वेपत्ता छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार