गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त सहयोग नेपाली कांग्रेस केन्द्रीय विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, बाढीबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढीमा बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई अझ प्रभावकारी, तीव्र र व्यवस्थित बनाउन सरकार तथा सम्बन्धित निकायसँग कांग्रेस गोरखाले आग्रह गरेको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस गोरखाले विपद्को यस घडीमा राहत तथा उद्धार कार्यमा सक्रिय सहभागिता जनाउन पार्टीका सम्पूर्ण तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था र सम्पूर्ण पार्टी पंक्तिलाई समेत आह्वान गरेको छ।