गोरखा । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर गोरखातर्फ ल्याएका शवको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले २९ शवको सामूहिक अन्त्येष्टि गरेको छ।
बाढीपछि बेनिघाटदेखि मुग्लिनसम्मको करिब ४० किलोमिटर नदी क्षेत्रमा हालसम्म ५५ शव फेला परेका छन्। तीमध्ये पहिचान खुल्न नसकेका तथा पहिचान गर्न कठिन अवस्थामा रहेका २९ शव र शरीरका विभिन्न अंगको शनिबार सहिदलखन गाउँपालिका–९, बुंकोटघाटस्थित बुढीगण्डकी नदी किनारमा अन्त्येष्टि गरिएको हो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार शव गाडेर अन्त्येष्टि गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठका अनुसार गोरखामा पर्याप्त क्षमताको व्यवस्थित शवगृह नहुँदा फेला परेका सबै शवलाई लामो समयसम्म सुरक्षित राख्न कठिन भएको थियो।
शव लामो समयसम्म राख्दा बिग्रने, दुर्गन्ध फैलिने तथा स्वास्थ्य जोखिमसमेत उत्पन्न हुन सक्ने भएकाले पहिचान खुल्न नसकेका शवको अन्त्येष्टि गर्नुपरेको प्रशासनको भनाइ छ।
प्रशासनका अनुसार फेला परेका ५५ शवमध्ये २३ शव सग्लो र पहिचान खुल्न सक्ने अवस्थामा छन्। तीमध्ये ११ शव पोखरा पठाइएको छ भने बाँकी शव प्रदेश अस्पताल गोरखा र एनपिआई गोरखा हस्पिटलको शवगृहमा राखिएका छन्।