गोरखा । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका गोरखासहित ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्दा आफ्नो पालिकालाई छुटाएको भन्दै गोरखाको शहिद लखन गाउँपालिकाले ‘चित्त’ दुखाएको छ ।
सरकारले घोषणा गरेको विपद् संकटग्रस्त क्षेत्रमा शहिद लखन नपरेपछि गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी मार्फत विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको हो।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र पठाउँदै बाढीबाट भएको क्षतिको अवस्था र जोखिमलाई आधार बनाएर विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समावेश गर्न आवश्यक पहल तथा सिफारिस गरिदिन आग्रह गरेको हो।
गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले हस्ताक्षर गरेको पत्रमा बाढीबाट शहिद लखनको वडा नं. ३ स्थित सिलिङटारको झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको उल्लेख छ। पुल क्षतिग्रस्त भएपछि स्थानीय नागरिकको आवतजावत तथा दैनिक सेवा–सुविधामा प्रत्यक्ष असर परेको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, वडा नं. ४ को राइनास बजार क्षेत्र उच्च जोखिममा रहेको बताइएको छ। नदी कटान तथा बहावका कारण उक्त क्षेत्रमा थप क्षति हुनसक्ने जोखिम कायम रहेको गाउँपालिकाको भनाइ छ।
बाढीले त्रिशूली नदी किनारका विभिन्न बस्ती तथा क्षेत्रमा प्रभाव पारेको र नदी कटानका कारण भौतिक संरचना, सडक तथा पुललगायतका पूर्वाधारमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ। बाढीबाट शहिद लखनका ७ जना नागरिक हालसम्म सम्पर्कविहीन रहेको पत्रमा उल्लेख छ।
गाउँपालिकाले बाढीका कारण स्थानीय नागरिकको आवतजावत, जीविकोपार्जन, सार्वजनिक सेवा तथा समग्र जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत, उद्धार, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउनसमेत माग गरेको छ।
गाउँपालिकाले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही, समन्वय र सहयोगका लागि पत्राचार गरेको छ। साथै बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा अनुगमन गरी राहत, उद्धार, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन समेत आग्रह गरिएको छ।