• शनिबार, साउन ३० २०८३

स्वास्थ्य बीमाको नयाँ आवद्धता र नवीकरण अब अनलाइनबाटै, डिजिटल कार्ड पनि पाइने


शनिबार, साउन ३० २०८३
205
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीकरण र केवाईसी अपडेट गर्ने कार्यका लागि अनलाइन प्रणाली सुरु गरेको छ । बोर्डले शुक्रबारदेखि औपचारिक रूपमा eportal.hib.gov.np मार्फत यी सेवा प्रदान गर्न थालेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा गत २२ साउन मा प्रणालीको अन्तिम तयारी र कार्यान्वयन सम्बन्धी कार्य सम्पन्न गरिएको थियो । बोर्डका अनुसार ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आवद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको छ । राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा विवरण डिजिटल प्रविष्ट गर्नुपर्ने व्यवस्था छ ।

बीमा शुल्क (प्रिमियम) भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आईपीएसको प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार अब व्यक्ति आफैँ वा दर्ता सहयोगीले अनलाइनबाटै परिवारलाई बीमामा आवद्ध गर्न र नवीकरण गर्न सक्नेछन् । यसअघि नै बीमा गराइसकेका परिवारले परिवारमूलीको बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

साथै, कार्यालय वा संगठित क्षेत्रका लागि ‘बल्क इनरोलमेन्ट’ र ‘बल्क रिन्युअल’ को सुविधा समेत उपलब्ध गराइएको छ । जिल्ला तथा प्रदेश तहबाट हुने प्रमाणीकरण र स्वीकृतिको प्रक्रिया पूरा भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी गरिने बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार