गोरखा । आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहले अब आफ्ना सामुदायिक कार्यक्रम सञ्चालनका लागि बाहिरबाट टेण्ट, कुर्सी, टेबल, साउन्ड सिस्टम तथा अन्य सामग्री भाडामा लिनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्।
महिला समूहहरूको संस्थागत क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामुदायिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रेम खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले आवश्यक सामग्री सहयोग गरेपछि उनीहरू आत्मनिर्भर बन्ने आधार तयार भएको हो।
मंगलबार आरुघाट बजारमा आयोजित कार्यक्रममा सम्भव नेपालको आर्थिक सहयोग तथा एस दी हिमालयको सहकार्यमा महिला समूहहरूले माग गरेका आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम संयोजक उत्तम अधिकारीका अनुसार प्रत्येक समूहको आवश्यकता र प्राथमिकतालाई आधार मानेर टेण्ट, कुर्सी, टेबल, सामूहिक भोजका लागि आवश्यक भाँडाकुँडा, साउन्ड सिस्टमलगायतका सामग्री उपलब्ध गराइएको हो।
उनले सामग्री संस्थाले एकतर्फी रूपमा छनोट नगरी महिला समूहकै माग र आवश्यकताको आधारमा वितरण गरिएको बताए। यसले महिला समूहहरूलाई सामाजिक, सांस्कृतिक, सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित गतिविधि आफ्नै स्रोत–साधनबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले महिला सशक्तीकरण नै दिगो विकासको मुख्य आधार भएको उल्लेख गर्दै स्थानीय महिला समूहलाई आत्मनिर्भर र संस्थागत रूपमा बलियो बनाउन सम्भव नेपालको योगदान प्रशंसनीय रहेको बताए।
‘महिला समूहहरू केवल बचत गर्ने संस्था मात्र होइनन्, गाउँको सामाजिक र आर्थिक परिवर्तनका महत्वपूर्ण साझेदार हुन्। उनीहरूलाई सक्षम बनाउनु भनेको सम्पूर्ण समुदायलाई सक्षम बनाउनु हो’ अध्यक्ष गुरुङले भने।
सम्भव नेपालका संस्थापक प्रेम खत्रीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातासँग गरेका प्रतिबद्धतालाई निर्वाचनमा पराजित भए पनि पूरा गर्ने अभियानअन्तर्गत यो सहयोग बताइएको छ ।
यसअघि एक महिनाअघि पनि सम्भव नेपालले चुमनुब्री गाउँपालिकाका १४ महिला समूहलाई यस्तै प्रकृतिका सशक्तीकरण सामग्री उपलब्ध गराइसकेको छ। स्थानीय महिला प्रतिनिधिहरूले प्राप्त सामग्रीले कार्यक्रम सञ्चालन खर्च उल्लेखनीय रूपमा घट्ने, सामूहिक गतिविधि विस्तार हुने तथा सीपमूलक र आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।
खत्री नेतृत्वको यस संस्थाले निर्वाचन पश्चात पनि गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा ८० लाखको प्रयोगशालाका उपकरण, गण्डकी गाउँपालिकाका ४ हजार ५ सय विधार्थीलाई पोसाक लगायतका शैक्षिक सामाग्री, विभिन्न पालिकामा निशुल्क स्वास्थ्य शिविर सेवा प्रदान गरिसकेको जनाएको छ ।
विगत डेढ दशकयता सम्भव नेपालले शिक्षा, स्वास्थ्य, कृषि, विपद ब्यवस्थापन, स्वरोजगार, शसक्तिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।