• शुक्रबार, साउन ८ २०८३

दूरदराजका नागरिकलाई गाउँमै विशेषज्ञ सेवा दिन धावामा सम्भव नेपालको निशुल्क शिविर, ३ सय बढीले लिए सेवा


आइतबार, असार १४ २०८३
715
Shares

गोरखा । दूरदराजका नागरिकलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोरखाको भिमसेनथापा गाउँपालिकामा सम्भव नेपालले एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा शनिबार धावा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षा र पहुँचलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त शिविरबाट ३ सय १७ जना सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविरमा स्त्रीरोग, बालरोग तथा जनरल फिजिसियन जस्ता सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिएको सम्भव नेपालका कार्यक्रम संयोजक उत्तम अधिकारीले जानकारी दिए ।

शिविरमा विशेष गरी ग्रामीण महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको मुखको क्यान्सर परीक्षण सेवासमेत सञ्चालन गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा बिरामीको रोगको प्रकृति हेरी आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो भने जटिल प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफरल सेवासमेत उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

धावा स्वास्थ्य चौकीमा आयोजित शिविरमा सेवा लिनेहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कुल लाभान्वित ३ सय १७ जनामध्ये २ सय ८७ जनाले ओपिडी सेवा, ३ सय १७ जनाले नै भिडिओ एक्स्रे सेवा, ८५ जनाले मानसिक रोगसम्बन्धी परामर्श तथा ६९ जना बालबालिकाले बालरोग विशेषज्ञबाट सेवा लिएका छन् । कार्यक्रममा मुनलाइट सोसाइटी नेपालको समेत सहकार्य रहेको थियो ।

अध्यक्ष प्रेमकुमार खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले विगत डेढ दशकदेखि गोरखा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, स्वरोजगार तथा महिला सशक्तिकरण लगायतका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।

संस्थाले यसअघि पनि गोरखाको शहिद लखन, आरुघाट र गोरखा नगरपालिका लगायतका विभिन्न स्थानमा विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार