गोरखा जिल्लाको सिरानचोक गाउँपालिकास्थित संसारी महेन्द्र माध्यमिक विद्यालय, नयाँसाँघु मा एकीकृत पाठ्यक्रम पुनर्ताजगी तालिम सम्पन्न भएको छ। ग्लोबल पिस फाउण्डेशन नेपाल र सिरानचोक गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम जेठ १४–१५ गते समूह–१ तथा जेठ १६–१७ गते समूह–२ गरी दुई चरणमा सम्पन्न भएको हो। प्रत्येक समूहका लागि दुई–दुई दिन सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका विभिन्न विद्यालयका कुल ७३ जना आधारभुत तहका शिक्षकहरूको सहभागिता रहेको थियो ।
यसअघि सिरानचोक गाउँपालिकाका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पाँचदिने विस्तृत क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो। सोही तालिमको निरन्तरतास्वरूप सञ्चालन गरिएको पुनर्ताजगी तालिमले शिक्षकहरूलाई व्यवहारिक अनुभव आदानप्रदान, सिकाइको पुनरावलोकन तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको समाधान खोज्न सहयोग पुर्याउने उद्देश्य राखेको थियो ।
तालिमको सहजीकरण विज्ञ प्रशिक्षक कृष्णप्रसाद ढुङ्गाना तथा इन्द्रकुमार तामाङले र कार्यक्रमको समन्वय ग्लोबल पिस फाउण्डेशन नेपालका कार्यक्रम संयोजक सागर खड्काले गरेका थिए ।
तालिममा रुब्रिक्सको प्रयोग, मूल्याङ्कनका विभिन्न उपकरणहरू, सफ्ट स्किलमा आधारित सिकाइ क्रियाकलाप, विषयगत मूल्याङ्कन प्रक्रिया, अभिलेख व्यवस्थापन तथा कक्षाकोठामा एकीकृत पाठ्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान र समाधानका उपायहरू सम्बन्धी विषयमा विस्तृत छलफल, अभ्यास तथा अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्र सिरानचोक गाउँपालिकाका शिक्षा अधिकृत सुशील नरालको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन मन्तव्यका क्रममा उनले शिक्षकहरूको निरन्तर सिकाइ र व्यावसायिक विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत विद्यार्थीहरूको ज्ञान, सीप, मूल्य र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए। उनले सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गरी शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन शिक्षकहरूलाई प्रेरित गरे ।
तालिमको समापन समारोह संसारी महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ग्लोबल पिस फाउण्डेशन नेपालका कार्यकारी निर्देशक राम रोहन पन्त विशेष अतिथि तथा कृष्णप्रसाद पोखरेल अतिथिका रूपमा उपस्थित थिए ।
मन्तव्यका क्रममा प्रधानाध्यापक श्रेष्ठले एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस्ता पुनर्ताजगी तालिमहरू अत्यन्त उपयोगी रहेको बताए। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा व्यवहारिक रूपमा लागू गर्न शिक्षकहरूलाई आग्रह गर्दै विद्यालयले गुणस्तरीय शिक्षाका लागि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
समापन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पन्तले सिरानचोक गाउँपालिका र ग्लोबल पिस फाउण्डेशन नेपालबीचको सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए। उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षक, विद्यालय र समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी अतिथि कृष्णप्रसाद पोखरेलले एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूको निरन्तर प्रयास, प्रतिबद्धता र अभ्यास अपरिहार्य रहेको बताए। पोखरेलले शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन र विद्यार्थीको समग्र विकास सुनिश्चित गर्न शिक्षकहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे ।
विज्ञ प्रशिक्षक कृष्णप्रसाद ढुङ्गानाले तालिम समापनका क्रममा सिकाइ एक निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै कुनै पनि व्यक्ति शतप्रतिशत पूर्ण नहुने, तर निरन्तर अभ्यास, आत्ममूल्याङ्कन र सुधारको प्रयासले उत्कृष्टता हासिल गर्न सकिने बताए। उनले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई नियमित रूपमा कक्षाकोठामा प्रयोग गर्न सहभागी शिक्षकहरूलाई प्रेरित गरेका थिए ।
सहभागी शिक्षकहरूले तालिमलाई अत्यन्त फलदायी, व्यावहारिक तथा ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन्। तालिमले एकीकृत पाठ्यक्रम कार्यान्वयनसम्बन्धी धेरै अन्योलता हटाएको, मूल्याङ्कन प्रक्रिया तथा अभिलेख व्यवस्थापनलाई थप स्पष्ट बनाएको र कक्षाकोठामा पाठ्यक्रम कार्यान्वयन गर्ने आत्मविश्वास बढाएको उनीहरूको भनाइ थियो। साथै, आगामी दिनहरूमा पनि यस्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
कार्यक्रमको सफल आयोजनाका लागि ग्लोबल पिस फाउण्डेशन नेपालले सिरानचोक गाउँपालिका, संसारी महेन्द्र माध्यमिक विद्यालय तथा तालिममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। सहभागीहरूको सक्रिय सहभागिता, स्थानीय सरकारको सहयोग तथा विद्यालयको व्यवस्थापनले कार्यक्रमलाई उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको फाउण्डेशनले जनाएको छ।
गत बर्षहरुमा पनि सिरानचोक गाउँपालिकाका करिब १०५ शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पाँच दिने विस्तृत क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो। सोही तालिमको निरन्तरतास्वरूप सञ्चालन गरिएको पुनर्ताजगी तालिमले शिक्षकहरूलाई व्यवहारिक अनुभव आदानप्रदान, सिकाइको पुनरावलोकन तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको समाधान खोज्न सहयोग पुर्याउने उद्देश्य राखेको थियो ।
ग्लोबल पिस फाउण्डेशन नेपालले एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, शिक्षक क्षमता अभिवृद्धि तथा जिम्मेवार नागरिक निर्माणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग सहकार्य गर्दै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।